जर्मनी अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली

40

स्टुटगार्ट । युरो २०२४ मा आफ्नो विजयी यात्रा जारी राख्दै आयोजक जर्मनी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बुधबार राति भएको समूह एको खेलमा टोली २–० गोले विजयी बन्यो ।

खेलको २२ औँ मिनेटमा इल्के गुन्डोगानको पासमा गोल गर्दै जमाल मुसियालाले जर्मनीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा गुन्डोगानले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
पहिलो खेलमा स्कटल्यान्डमाथि ५–१ को शानदार जित हासिल गरेको जर्मनीले आजको खेलमा भने मेहनत गर्नुपरेको थियो । दुई खेलपछि नै टोलीले प्रतियोगितामा ७ गोल गरिसकेको छ, जुन सन् २०२० को युरोमा टोलीले ४ खेलमा गरेको कूल गोलभन्दा बढी हो ।

यता, पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित भएको हंगेरी भने प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको छ । अर्को खेलमा स्कटल्यान्डलाई हराए मात्र टोली अर्को चरणमा पुग्ने आशा बाँकी रहन्छ । यसका लागि पनि टोली अन्य खेलको नतिजामा भर पर्नुपर्छ ।

२ खेलपछि ६ अङ्क बटुलेर जर्मनी समूह एको शीर्ष स्थानमा छ । १ खेलबाट ३ अङ्कसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here