सतलोक आश्रममा २१ जोडीले सामूहिकरुपमा दाइजोमुक्त अन्तरजातिय विवाह गरे

29

गोदार (धनुषा) । जिल्लाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिकरुपमा दाइजोमुक्त अन्तरजातिय विवाह गरेका छन्।

सन्त रामपालको सतलोक आश्रममा कबिर परमेश्वरको ६२७औँ प्रकट दिवसको अवसरमा आयोजित समारोहमा शुक्रबार २१ जोडीले सामूहिक अन्तरजातिय विवाह गरेका हुन्।

गुरुवाणीद्वारा २३ करोड देवीदेवताको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमा सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिए। उनका अनुसार विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ।

कबिर जयन्तीका अवसरमा उनको सम्झनामा प्रत्येक वर्ष मनाइने ‘कबिर परमेश्वर प्रकट दिवस’ आज यहाँ विविध कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ। सन्त रामपालजी महाराजका अनुयायीद्वारा यही असार ६ गतेदेखि ८ गतेसम्म तीन दिवसीय अखण्ड पाठ तथा भण्डारा कार्यक्रम आयोजना गरिएको थियो।

असार ६ गते पाठ प्रकाश गरी भण्डाराको प्रारम्भ गरिएको भट्टले बताउनुभयो। उहाँका अनुसार दोस्रो दिन दाइजोमुक्त सामूहिक विवाहलगायत विभिन्न किसिमका समाज सुधारका कार्यक्रम भएका छन्। अनुयायीहरुले दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान गरेका छन्।

कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंहलगायत प्रदेशका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here