
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकारण गर्न माग गरेका छन् ।
विनियोजन विधेयक, २०८१ का विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफलमा भाग लिँदै सांसदहरुले उक्त सुझाव दिएका हुन् ।
‘यो कूल बजेटको १० दशमलव ९५ हुन आउँछ, चालु आव २०८०-८१ मा शिक्षामा ११ दशमवल २७ प्रतिशत बजेट छुट्याइएकामा आगामी आवका लागि घटेर आएको छ, शिक्षा क्षेत्रमा बजेट नघटाइयोस्’, सांसद परियारले भने । उनले अपांगता भएका शिक्षक र विद्यार्थीका लागि विभिन्न कार्यक्रम ल्याइएकामा खुसी व्यक्त गरे।
सांसद आनन्दप्रसाद ढुंगानाले कृषिको आधुनिकीकारण र व्यावसायिकरण नगरेसम्म गरिबी न्यूनीकरण सम्भव नभएको जनाए ।
‘कृषि नेपालको विकासको मेरुदण्ड हो, तर अझै किसानका समस्या समाधान हुन सकेका छैनन्’, खर्च कटौतीको प्रस्तावसहितको छलफलमा उनले भने, ‘कृषि क्षेत्रमा छुट्ट्याइएको बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैन ।’
आगामी आवको बजेटमा कृषि क्षेत्रमा रु एक अर्ब बजेट कटौती गरिएको उल्लेख गर्दै सांसद ढुंगानाले बजेट घटाएर कसरी कृषिको आधुनिकीकरण सम्भव हुन्छ भनेर प्रश्न गरे ।
सरकारले किसानलाई मल दिन नसकेको यथार्थ सुनाउँदै उनले उनीहरूलाई समयमै पर्याप्त मात्रामा मल, बीउ र सिँचाइ सुविधा उपलब्ध गराइनुपर्ने जनाए।

















