नयाँ दिल्ली । भारतको गुजरात राज्यमा चन्दिपुरा नाम गरेको भाइरसका कारण ६ जना बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । यो सङ्ख्या जुलाई १० यताको हो ।
चन्दिपुरा भाइरसको सङ्क्रमण भएपछि बिरामीलाई फ्लुको सङ्क्रमणमा देखिने जस्तै लक्षणहरू देखापर्छ । बिरामीलाई ज्वरो आउँछ । कसै कसैको मस्तिष्क सुन्निन्छ । वर्षात्को समयमा लामखुट्टे, किर्ना र भुसुनाको टोकाइबाट यो भाइरस सर्छ । मृत्यु भएका बालबालिकामा चन्दिपुरा भाइरसको सङ्क्रमण थियो कि थिएन भन्ने पुष्टि चाहिँ रिपोर्ट आएपछि थाहा हुने बताइएको छ ।
यो भाइरस सन् १९६५ मा महाराष्ट्रको चन्दिपुरा गाउँमा भेटिएको थियो । त्यसैले यसको नाम चन्दिपुरा राखिएको हो । गुजरातको सीमावर्ती राज्यमा भाइरसको सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाउन थालिएको छ ।


















