ऐनविपरीत काम गरेको भन्दै सात वित्तीय संस्था कारबाहीमा

45

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले राष्ट्र बैंक ऐन तथा निर्देशनविपरीत काम गरेको भन्दै सात वटा वित्तीय संस्थालाई कारबाही गरेको छ ।

यसरी कारबाहीमा पर्ने वित्तीय संस्थाहरुमा नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट, प्रोग्रेसिभ फाइनान्स, बेष्ट फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् । त्यसमध्ये सिन्धु विकास बैंक शीघ्र सुधारात्मक कारबाहीमा परेको हो । सिन्धु विकास बैंकले असार दोस्रो साता पठाएको विवरणमा पूँजीकोष अनुपात ७ प्रतिशत भन्दा कम रहेको देखाएको थियो ।  ८.५ प्रतिशतभन्दा कम हुन नपाउने यस्तो अनुपात घटेपछि राष्ट्र बैंकले यस्तो कारबाही गरेको हो ।

योसँगै यस बैंकले लाभांश वितरण गर्न, शाखा विस्तार गर्न, सञ्चालक र सीईओहरुको तलबभत्ता बढाउन पाउँदैन भने निक्षेप परिचालन र कर्जाको परिचालनमा समेत राष्ट्र बैंकको हस्तक्षेप हुन सक्छ । त्यस्तै सो बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ नगद जरिबाना पनि गरेको छ । राष्ट्र बैंकको एकीकृत निर्देशनविपरीत चेक खरिद गरेको, चेकलाई धितो मानेर २ करोड ५० लाख रुपैयाँ बराबरको शेयर धितो फुकुवा गर्ने निर्णय गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै व्यक्तिगत जमानीमा ऋण प्रवाह भएका चारजना ऋणीलाई कर्जाको साधारण ब्याजसमेत मिनाहा गरी साँवा रकममात्र असुलउपर गर्ने निर्णय गरेको भन्दै यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हितविपरीतका कार्य भएको राष्ट्र बैंकले बताएको छ ।त्यस्तै अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेको भन्दै कर्णाली विकास बैंकलाई २ हजार ४ सय ५६ रुपैयाँ जरिबाना गरेको छ । त्यस्तै तोकेको समयावधिभन्दा ढिला लेखापरीक्षण गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स र रिलायन्स फाइनान्स पनि कारबाहीमा परेका छन् ।

उता प्रोग्रेसिभ फाइनान्सले तोकिएको समयावधिभित्र बाह्य लेखापरीक्षण र वार्षिक साधारण सभा सम्पन्न भन्दै सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । सिन्धुसँगै अब शीघ्र सुधारात्मक कारबाहीमा पर्ने वित्तीय संस्थाको संख्या दुई पुगेको छ । यसअघि नारायणी डेभलपमेन्ट बैंकमाथि गरिएको कारबाही अहिले पनि कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here