काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पताललाई नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरेका हुन् ।
अस्पतालले सेवाको विवरण तयार पारी सेवाग्राहीले स्पष्ट बुझ्ने गरी देखिने स्थानमा राख्नुपर्ने छ । सेवा सञ्चालन गर्नका लागि अस्पतालका प्रमुख रहेको कार्यक्रम सञ्चालन समिति गठन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
अतिरिक्त समयमा सेवा सञ्चालन सामुदायिक र सहकारी अस्पतालमा समेत लागू गर्न सकिने व्यवस्था छ । प्रदेश र स्थानीय तहले पनि आफ्नो मातहतका अस्पतालमा नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न सक्नेछन् ।
कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७ लाई आवश्यकताअनुसार परिमार्जन गर्ने मन्त्रालय र उपत्यकाका सङ्घीय अस्पतालबीच सहमति भएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।