काठमाडौं । साउन महिनाको पहिलो आज सोमबार, पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनकाे घुइँचो लागेको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्री जनाउँछन् ।
व्रत बस्नुको कारणबारे डा. शास्त्री भन्छन्, ‘व्रत शब्दले मानिसको कल्याणकारी भावनालाई बुझाउँछ । कुनै उद्देश्य प्राप्तिका लागि सनातन रुपमा गरिने उपासनाको पद्धति हो । व्रतले हाम्रो जीवन, स्वास्थ्य, आध्यात्मिक उन्नति, मनको शान्तिलाई सकारात्मक प्रभाव पार्दछ ।’
हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसी लगायतका स्थानमा देख्न सकिन्छ । गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।


















