प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह

29

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा विशेष समयमा लिएर बोल्दै उनले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले नेपाल बंगलादेश वा श्रीलंकाजस्तो हुन सक्छ भनेर उत्तेजनाको राजनीति गर्न नहुने जनाएका हुन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रचण्डले नेपालमा पनि बंगलादेश र श्रीलंकामा जस्तै विद्रोह हुन सक्ने अभिव्यक्ति दिएका थिए ।

महामन्त्री थापाले प्रतिपक्षी दलको नेता पनि यही प्रणालीको अंग हो भन्दै उसले आफ्नो जिम्मेवारी भुल्न नहुने जनाए । ‘प्रतिपक्षले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । एक छिनको लाभका लागि, आफ्नो दलमा अप्ठ्यारो परेको छ, दलका साथीहरुलाई जुरुक्क उचाल्छु भनेर क्षणिक लाभ पूरा गर्न र अन्तरविरोधमा खेल्नका लागि यति धेरै पनि बरालिनु पनि हुन्न कि’, थापाले भने ।

उत्तेजनाको राजनीति गर्न सजिलो हुने भन्दै थापाले तर एक पटक आगो सल्काएपछि त्यसले आफैंलाई पनि जलाउन सक्छ भन्ने हेक्का राख्न प्रचण्डलाई आग्रह गरेका छन् । ‘बाल्न सजिलो छ निभाउन गाह्रो छ, उत्तेजनाको राजनीतिक बडो सजिलो हुन्छ, चेतनाको राजनीतिक गाह्रो हुन्छ’, उनले भने, ‘आवेग ओकल्न सजिलो छ, विवेकपूर्ण ढंगले सम्हाल्न गाह्रो हुन्छ ।’

उत्तेजनाको राजनीति बिक्छ भनेर अरु नेताहरुले पनि त्यसको सिको गरेको भन्दै महामन्त्री थापाले यो बढ्दै गएमा सम्हाल्न नसकिने धारणा राखे । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको भ्रष्टाचारसम्बन्धी विधेयकमा रहेको हदम्यादको विषयमा पनि उत्तेजनाको राजनीति भइरहेको उनले जनाए ।

उक्त विधेयकमा भ्रष्टाचार मुद्दामा थाहा पाएको ५ वर्षभित्र मुद्दा चलाउने विषय उल्लेख छ । थापाले उक्त विषयमा धेरै सांसदहरुको संशोधन प्रस्ताव रहेको र राज्य व्यवस्था समितिमा छलफल भइरहेको भन्दै यो बेलामा अनावश्यक उत्तेजना फैलाउन नहुने जनाए । केही दिनअघि रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारमा हदम्यादको प्रस्ताव ‘अरुले पारित गर्न खोज्दैछन्, तर मेरो लासमाथि टेकेर भए पनि म रोक्छु’ भन्ने अभिव्यक्ति दिएको भन्दै थापाले आलोचना गरे ।

‘यही हो हामीले भन्ने, जिम्मेवारी छैन, उत्तेजनाको ब्यापार मात्र गर्ने हो ?, …हामीले जिम्मा लिएर भन्नुपर्ने होइन, नआत्तिनुस्, हामी गर्छौं, हामी सबै एकैठाउँमा छौं, जुन सुकै सोचले आएको भए पनि गलत छ’, थापाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here