देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजियाे : प्रचण्ड

56

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजिएको आरोप लगाएका छन्।

बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनका क्रममा बोल्दै प्रचण्डले कांग्रेस र एमालेले देशलाई दुई दलीय व्यवस्था हुँदै अधिनायकवादतर्फ लैजान खोजेकोले त्यसलाई रोक्नुपर्ने जनाए।

‘पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसूचित गर्नुपर्छ। प्रशिक्षित गर्नुपर्छ। पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले भूराजनीतिक स्थितिका कारण राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको र राष्ट्रियता, जनजीविकाका सवालहरु दिन प्रतिदिन पेचिलो बन्दै गएको जनाएका थिए । ‘यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्नपर्छ,’ उनले भने।

त्यस्तै  जनताका समस्याहरुको तथ्यांक संकलन गर्ने, सदनलाई प्रभावकारी बनाउने, अन्तर्क्रिया छलफल गर्नुपर्ने प्रचण्डले जनाए ।  ‘पहिलेका सरकारले गरेका सुशासन, समृद्धिका कुराहरुलाई उल्ट्याउने खालको स्थिति बनाइरहेको छ। अब जनताको हक अधिकार खोसिने आशंका भएको छ। जनतामा आक्रोश पनि बढिरहेको छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here