काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तेस्रो ‘नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी–२०८१’ आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जिबिसन एण्ड ट्रेड सर्विसेस इण्डियाको संयुक्त आयोजनामा भदौ २१, २२ र २३ मा तीन दिने प्रदर्शनी हुन लागेको हो ।
साथै हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेसन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ ।
‘राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नु प्रदर्शनीको लक्ष्य रहेको छ,’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै यी उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदानप्रदान गर्न तथा उपभोक्तामा ऊर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी दिन प्रदर्शनी राखिएको हो ।’
मुलुकमा बढ्दो उत्पादित जल विद्युत्लाई विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लैजान र ऊर्जा व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा सहयोग पुर्याउन प्रदर्शनी आयोजना गरिएको आयोजक जनाइएको छ ।
















