बालिकाबारे छानबिन गरी दोषीमाथि कारबाही थाकसकाे माग

26

काठमाडौं। काठमाडौं महानगरपालिकाले उद्धार गरेकी बालिकाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न थारू कल्याणकारिणी सभा (थाकस)ले माग गरेको छ ।

थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बालिकालाई बँधुवा मजदुर सरह राख्नेलाई कारबाही गरी बालिकालाई उचित क्षतिपूर्ति समेत दिनुपर्ने बताए । उनले अनलाइनखरबसँग भने, ‘अहिले जुन बालिकाको काठमाडौं महानगरले उद्धार गरेर राखेको छ, त्यसको दोषीमाथि छानिबिन होस्। छानबिन मात्र भएर भएन। कडा कारबाही र बालिकालाई बधुवा मजदूरको रुपमा राखेकोमा उचित क्षतिपूर्ति पनि चाहियो।’

उनले बालिकालाई पीडा दिने दोषीबारे छानबिन गरी कारबाही र क्षतिपूर्ति नदिए देशभरका थारू समुदाय आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए। उनले भने, ‘नेपालबाट कमलरी प्रथा उन्मुलन भएको ११ वर्ष बितिसक्दा पनि अवशेषको रुपमा सरकारको उच्च ओहदामा बसेका व्‍यक्तिहरूबाटै बधुवा मजदुरको रुपमा राख्‍नु गैरजिम्मेवार कार्य भइरहेको छ। बालिकालाई उचित क्षतिपूर्ति नदिए देशभरका थारू समुदायले फेरि एक पटक आन्दोलनमा उत्रिन बाध्य हुन्छ।’

यसैबीच थारू कल्याणकारिणीसभाका महामन्त्री प्रेमीलाल चौधरी,  मुक्त कमलरी विकास मञ्‍चका केन्द्रीय अध्यक्ष हिरामोती कुमारी चौधरी, थारू विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारू कल्‍याणकारिणीसभा दाङका सभापति अशोक कुमार चौधरी  र थरूहट थारूवान राष्ट्रिय मुक्ति मोर्चाका संयोजक श्रवण थारूले छुट्टाछुट्टै विज्ञप्ति समेत जारी गर्दै सो घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी विद्यार्थीले काठमाडौंका सामुदायिक विद्यालयमा पढिरहेका तर बाबुआमा साथमा नभएका बालबालिका बारे सर्वेक्षण गर्ने क्रममा एक नाबालिकालाई लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माको निवासमा श्रमशोषण गरेर राखेको खुलेको थियो ।

६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकाले आफूलाई यातना समेत दिएको बताएपछि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएर उद्धार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here