काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई क्लिन चिट दिन अदालत नै तयार नभएको कुरा आफूले सुनेको जनाएका छन्।
आइतबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूले क्लिन चिट दिने काम नगरेको पनि ठोकुवा गरे।
‘मैले के सुनेको छु भने अदालतले नै क्लिन चिट दिन तयार भएको छैन। यस्तो आधार छैन भनेर अदालतले भन्यो, पोखराकै अदालतले पनि भन्ने मैले सुनेको छु,’ प्रचण्डले भने। सााथै, उनले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले पनि सहकारी ठगीमा रवि लामिछानेलाई कहिँ कतै आरोपित नगरेको जनाए। ‘तर, कार्यदलले सहकारी ठगीमा आरोपित गरेको अहिले पनि छैन। गोरखा मिडिया नेटवर्कसँग सम्बन्धितमा केही चिज छ भनिएको छ। मैले रोकेर रोकिने कुरा पनि होइन, रोकेको पनि छैन,’ अध्यक्ष प्रचण्डले भने।
आफू प्रधानमन्त्री हुँदा राज्यका तीनवटै सुरक्षा निकाय र सम्बन्धित पोखरा प्रहरीले पनि अहिले तत्काल रवि संलग्न नभएको कुरा आफूलाई ब्रिफिङ गरेको र सोही अनुसार संसद्मा जवाफ दिएको प्रचण्डले जनाए । ‘मैले रवि लामिछानेलाई गलत ढंगले क्लिनचिट दिने काम गरेको छैन। यो भ्रम हो। जतिबेला म प्रधानमन्त्री थिएँ, प्रधानमन्त्रीको हैसियतले अनुसन्धान गर्ने सबै निकायसँग सोधेको थिएँ, रविको बारेमा साँच्चै केही प्रमाण छ त?,’ अध्यक्ष प्रचण्डले अघि भने, ‘तपाईंहरूसँग छ भने भन्नुप¥यो।
भोलि मैले प्रधानमन्त्रीको हैसियतले पार्लियामेन्टमा जवाफ दिँदैछु रवि लामिछानेबारे, केही छ भने यहाँ यति चाहिँ कैफियत छ भन्नुप¥यो छ भने, छैन भने छैन भन्नुप¥यो। यति भनेपछि मैले तीनवटै सुुरक्षा निकायसँग सोध्दा पनि अहिले केही छैन, अनि पोखरामा सोध्दा पनि अहिले केही छैन भनेपछि जे छैन भनेको छ मैले छ भनेर भन्न त मिल्दैन। मैले त्यही कुरा भनेको हो।’
प्रचण्डले रविलाई पक्राउ गर्ने वा नगर्नेबारे आफूमा भर नपर्ने पनि जिकि गरे। ‘मैले भनेर पक्रने र नपक्रने होइन। सरकार र सम्बन्धित निकाय छ। अहिले छानबिन समिति जुन छ, त्यो बनाउनुपर्छ भन्ने म र रवि लामिछाने दुवै हो। बनाउन हुँदैन भन्ने चाहिँ केपी ओलीजी हो,’ प्रचण्डले भने, ‘समिति बनाउन हुँदैन भनेर उहाँले भन्नुभएको थियो। अहिले उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ। कारबाही गर्ने हदसम्म कसैले रोकेको छैन, केही छ भने।’

















