काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो २ बजे काठमाडौं अवतरण गरेका हुन् ।
उनी सवार हिमालय एयरलाइन्सको हवाईजहाज अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए ।
चीन भ्रमणका उपलब्धिबारे ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिने छन् ।
प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए । उनले बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालय अवलोकन र पेकिङ विश्वविद्यालयमा सम्बोधनसमेत दिएका थिए ।