काठमाडौं । कास्की प्रहरीको हिरासत कक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछाने सुतेको तस्बिर सार्वजनिक भएको झन्डै २४ घन्टा बित्न लाग्दा कास्की प्रहरीले बल्लतल्ल यसबारे विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।
कास्की प्रहरीका डिएसपी बसन्तकुमार शर्माले एक विज्ञप्ति प्रकाशित गरी ‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण’को मुद्दालाई प्रभावित गर्नेगरी डा. निकोलस भुसालको पेजबाट रवि लामिछानेको तस्बिर प्रकाशित भएपछि ध्यान आकर्षित भएको लेखेका छन्।
उक्त तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता पनि डिएसपी शर्माले व्यक्त गरेका छन्।
आफ्नै लापरबाहीबाट सार्वजनिक भएको तस्बिरबारे ढाकछोप गर्दै कास्की प्रहरीले गोपनीयतालाई कायम राखी अनुसन्धान गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत उल्लेख गरेको छ।
गोपनीयता कायम गर्नुपर्ने विषयमा संवेदनशीलता अपनाउन पनि कास्की प्रहरीले सबैलाई आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक रहेका डा. निकोलस भुषालले रविको हिरासतको तस्बिर आफूले खिचेर सार्वजनिक गरेको स्वीकार गरेका छन्।
कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्धको मुद्दामा अनुसन्धान सकाएर पुस १ गते रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। प्रतिवेदनले ५१ जनालाई प्रतिवादी बनाएको छ।

















