अन्तर्राष्ट्रिय ब्याडमिन्टन मिक्स डबल्समा नेपालको पदक पक्का

50

काठमाडाैं । शोभा गौचन र क्षितिज खनालको जोडीले नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जअन्तर्गत मिक्स डबल्सको अन्तिम आठमा स्थान बनाएसँगै नेपालको पदक पक्का भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको मिक्स डबल्समा शोभा र क्षितिजको जोडीले जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेपछि नेपालको पदक पक्का भएको हो। घरेलु कोर्टमा जारी प्रतियोगितामा यो जोडीले अन्तिम १६ मा श्रीलंकाका थुलित पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई २–१ को सेटमा हराए। शोभा र क्षितिजको जोडीले १८–२१, २४–२२ र २४–२२ को कठिन जित निकालेका हुन्। सोमबारदेखि सुरु च्यालेन्जमा यो नै नेपाली खेलाडीको दोस्रो जित हो। क्षितिजले नै पुरुष एकलको क्वालिफिकेसनमा एक जित निकालेका थिए।

दोस्रो दिन समाप्त हुँदा यी दुईबाहेक कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन्। शोभा र क्षितिजको मिक्समा जितसँगै जारी च्यालेन्जमा नेपालले पहिलो पदक पक्का गर्‍यो। यी जोडीले क्वार्टरफाइनलमा प्रिन्स दाहाल र रशिला महर्जनको जोडीसँग खेल्ने भएपछि कम्तीमा कांस्य पदक पक्का भएको हो। ओलम्पियनसमेत रहेका प्रिन्स र रशिला महर्जनको जोडीले यसअघि बाई पाएका थिए। थाइल्यान्डका खेलाडीले यस विधामा नाम फिर्ता लिएपछि प्रिन्स र रशिलाको जोडीले अन्तिम आठको यात्रा तय गरेका हुन्।

मंगलबार नेपालका खेलाडीले कुल १० खेलमा चुनौती प्रस्तुत गरेका थिए। शोभा र क्षितिजको जोडीबाहेक सबैको चुनौती पहिलो खेलमा नै समाप्त भयो। यसअघि महिला र पुरुष सिंगल्समा नेपालको चुनौती सोमबार नै सकिएको थियो। नेपाल ब्याडमिन्टन संघको आयोजनामा घरेलु कोर्टमा मंगलबार भएको डबल्सका खेलमा पनि नेपाली खेलाडीको प्रदर्शन सुखद रहेन। मिक्स डबल्समै देव राना र शेष्ना सिर्पालीको जोडी पहिलो खेलमा नै पराजित भए। यी जोडी अन्तिम १६ मा थाइल्यान्डका नोन्ताकोर्न थोङ अन र कोडचापोर्न चाईछानाको जोडीसँग २१–९, २१–१४ पराजित भएका हुन्।
यसै विधाको अन्तिम १६ मा नेपालका भोजबहादुर गुरुङ र अन्जना राईको जोडी अमेरिकाका प्याट्रिक ची र नाताली चीको जोडीसँग २१–११, २१–८, अमन महर्जन र निता लम्सालको जोडी भारतका मोहित जगलान र लक्षिता जगलानको जोडीसँग २१–१०, २१–१२ तथा सुनिल जोशी र एलिना सुनारको जोडी थाइल्यान्डका अपिचासित तिराविवत र पान्नवी पोलियामको जोडीसँग २१–८, २१–६ ले पराजित भए। पुरुष डबल्समा प्रिन्स र श्रीलंकन दुमिन्दु अवेविक्रमेको जोडीको यात्रा पनि पहिलो खेलमा नै सीमित भयो। यी दुई अन्तिम १६ मा भारतीय खेलाडी चायानित जोशी र मायान्क रानासँग २–१ को जोडीसँग पराजित भएका हुन्।

प्रिन्स र दुमिन्दुको जोडी भारतीय प्रतिद्वन्द्वीसँग पहिलो सेटमा २१–१७ ले पराजित भए। तर, दोस्रो सेट २३–२१ ले आफ्नो पक्षमा पार्दै पुनरागमनको संकेत गरे। तर, तेस्रो सेटमा २१–१५ को हारसँगै प्रिन्सको यात्रा समाप्त भयो। पुरुष डबल्सका अन्य खेलमा क्षितिज खनाल र देवराज रानाको जोडी भारतका आर्य थाकोर र ध्रुव थाकोरको जोडीसँग २१–७, २१–१०, भोजबहादुर गुरुङ र प्रफूल महर्जनको जोडी भारतकै विप्लभ र विराज कुभालेको जोडीसँग २१–१३, २१–१६ तथा सुनिल जोशी र अमन महर्जनको जोडी थाइल्यान्डका नारुत सेङ्खाम र अपिचासित तिराविवतसँग २१–८ र २१–१० ले पराजित भए।

महिला डबल्समा पनि नेपालका रशिला महर्जन र अमिता गिरीको जोडी पनि पहिलो खेलमै पराजित भयो। यी जोडी श्रीलंकाका हसिनी अम्बालनगोदागे र हसरा विजयरत्नेको जोडीसँग २१–११, २१–१७ तथा शोभा गौचन र शेष्ना सिर्पालीको जोडी श्रीलंकाकै जनानुवानी अमान्दा र निलासी वालासुरियाको जोडीसँग २१–१८, २१–१४ को सेटमा पराजित भए। नेपाल ब्याडमिन्टन संघको आयोजनामा दोस्रोपल्ट नेपालमा भएको च्यालेन्ज ब्याडमिन्टनमा घरेलु टोलीबाट ९ पुरुष र सात महिला खेलाडीले कुल पाँच विधामा चुनौती प्रस्तुत गर्दैछन्।

नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, ईटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगान्डा, इङ्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल एक सय ७४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। च्यालेन्जमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको छ। च्यालेन्जका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वार्टरफाइनलिस्टले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त पाउनेछन्।

च्यालेन्जलगत्तै आगामी पुष १२ देखि १४ गतेसम्म नेपाल जुनियर अन्तर्राष्ट्रिय सिरिज २०२४ आयोजना हुँदै छ। जुनियरमा पनि आयोजक नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान र युएईका कुल एक सय सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट जुनियरमा समान पुरुष र महिला खेलाडीको प्रतिस्पर्धा हुँदै छ। सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here