पथरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोरङको उर्लाबारी–३ मङ्गलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको निरीक्षण गरेकी छन्। उनले अस्पतालले दिने सेवा सुविधा, भौतिक संरचना, अस्पतालमा भएका सामग्री र स्वास्थ्य कर्मचारीको दरबन्दी साथै अवस्थाका बारेमा जानकारी लिएकी हुन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविकुमार शाहले अस्पतालको भावी योजनाका बारेमा पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराए । पन्ध्र शय्याको दरबन्दी रहेको अस्पतालले ५५ शय्याको सेवा दिँदै आएको उनले जानकारी दिए।
पचास शय्याको मात्र अनुमति भए पनि बिरामी चापले ५५ शय्याको सेवा दिँदै आएको र उपकरण सामग्री पर्याप्त हुनासाथ अस्पतालले चाँडै ६० शय्याको सेवा दिने उनको भनाइ छ ।
अवलोकनका क्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका तीन अस्पताललाई एक सय शय्याको अस्पतालमा स्तरवृद्धि गर्ने बताए। उनले पहाडको बसाइँसराइ रोक्न धनकुटा र ताप्लेजुङको अस्पताल स्तरोन्नति गर्न प्रदेश सरकार लागिपरेको बताए।
कोशी प्रदेशकै सरकारको गौरवको आयोजना रहेको यस नमूना अस्पतालबाट ट्रमाका सम्पूर्ण सेवाका साथ आकस्मिक सेवा, भिडियो एक्से, सिटी स्क्यान, ओपिडी, प्रयोगशाला, अन्तरङ्ग, रेडियोलोजी/रेडियोग्राफी, फार्मेसी, फिजियोथेरापी, नेत्ररोग, खोप, एम्बुलेन्स, पोष्टमार्टम तथा फ्रिजर, प्रसूति तथा सुरक्षित गर्भपतन सेवा, नेत्ररोग सेवा दिँदै आएको छ ।
विसं २०४९ चैतमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सुरू अस्पताल २०७२/७३ सालमा १५ शय्यासहितको मङ्गलबारे अस्पताल हुँदै २०७७ साल साउनदेखि ५० शय्याको अस्पतालसहित ट्रमा सेन्टरका रूपमा स्तरोन्नति भएको हो ।


















