काठमाडौं । काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै यस्ता कार्य बन्द गर्न स्थानीय तहहरूलाई आग्रहसमेत गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन् ।
संविधान प्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक-कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ ।’
महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ । आन्दोलन चलेको पनि २५ दिन नाघेको छ ।



















