काठमाडौं । कपन डुबान समस्या समाधानको माग गर्दै बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएका छन् ।
नगर प्रमुख मिठाराम अधिकारी नेतृत्वको टोलीले कपन डुबान हुनुमा प्राधिकरण जिम्मेवार रहेको भन्दै धर्ना दिएको हो ।
नगरपालिकाका अनुसार कपन क्षेत्रमा डुबान समस्या हल गर्न झण्डै तीन वर्षअघि ठेक्का दिइएको आयोजनाले दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ३० प्रतिशत मात्र काम भएको छ । ठेक्का सम्झौता गरेर प्राधिकरणले वास्तै नगर्दा काम नभएको भन्दै नगरका जनप्रतिनिधिहरु धर्नामा बस्न परेको उनले जनाए ।
नगर प्रमुख अधिकारीले नागरिकको अधिकार र जनसरोकारका विषयमा उदासीनता देखाउने कुनै पनि निकायको व्यवहार स्वीकार्य नहुने चेतावनी दिँदै, जबसम्म ठोस प्रतिबद्धता प्राप्त हुँदैन तबसम्म धर्ना जारी राखिने जनाए ।

















