एजेन्सी । थाइल्याण्ड र कम्बोडियाका सैन्य कमाण्डरहरूबीच मंगलबार वार्ता शुरू भएपछि दुवै देशबीचको विवादित सीमा क्षेत्रमा शान्ति स्थापना भएको छ ।
यससँगै विस्थापित नागरिकहरू विस्तारै घर फर्कन थालेका छन् । पाँच दिन लामो भीषण द्वन्द्वपछि दुवै देशका नेताहरूको सहमतिमा युद्धविराम भएपछि सीमा क्षेत्रका नागरिक आ-आफ्नो घरमा फर्कने वातावरण बनेको हो ।
सोमबार मलेसियामा थाइ र कम्बोडियाली नेताहरूबीच भएको भेटवार्तामा युद्धविरामको सहमति भएको थियो । दुवै देशबीच विगत एक दशकयताको सबभन्दा खतरनाक संघर्ष भएको थियो । उक्त सैन्य संघर्षमा परी हालसम्म दुवैतर्फ गरी ४० जनाको ज्यान गएको थियो भने करिब ३ लाख नागरिक आन्तरिक रूपमा विस्थापित हुन बाध्य भएका थिए ।
तर, त्यसलगत्तै दुवै पक्षका सेनापतिको बैठक संयुक्त भएको थाइ सेनाका प्रवक्ता मेजर जनरल विनथाइ सुवारीले रोयटर्सलाई जानकारी गराए ।
कम्बोडियाली रक्षा मन्त्री टिया सेइहाले विज्ञप्ति जारी गर्दै यस्तो आक्रमणको आरोप अस्वीकार गरेका छन् । विज्ञप्तिमार्फत् उनले भनेका छन्, ‘हाम्रा सैनिकहरूले मध्यरातबाट लागू भएको युद्धविरामलाई पूर्ण रूपमा पालना गरिरहेका छन् ।’
हालसम्म भएका वार्तामा थाइल्याण्डको दोस्रो क्षेत्रीय सेनाका कमाण्डर र उक्त सीमावर्ती क्षेत्रमा लडाइँमा संलग्न रहेका कम्बोडियाली समकक्षीबीच संवाद भएको छ । मेजर जनरल विनथाइ सुवारीका अनुसार दुवै पक्षले युद्धविराम कायम राख्ने, थप सैन्य गतिविधि नगर्ने, घाइते र शवको सुरक्षित फिर्ता सुनिश्चित गर्ने सहमति गरेका छन् । उनका अनुसार, ‘प्रत्येक पक्षले चार-चार जना मिलेर एक समन्वय टोली गठन गर्नेछ, जसले कुनै समस्या उत्पन्न भए समाधान गर्नेछ ।’
अन्तर्राष्ट्रिय अनुगमनको माग
कम्बोडियाको संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध आयोगका महानिर्देशक लिम मेङ्हुअरले दुवै देशका सेनाहरूले विवादित सीमामा थप सैनिक नपठाउने सहमति गरेको जनाएका छन् ।
साथै, उनले युद्धविरामको पालना कत्तिको प्रभावकारी रूपमा भइरहेको छ भनेर हेर्न अन्तर्राष्ट्रिय निरीक्षक आवश्यक भएको बताए । उनले रोयटर्सलाई भने, ‘हिजो भएको सहमतिका सबै सर्तहरू लागू छन् वा छैनन् भन्ने बुझ्न अन्तर्राष्ट्रिय अनुगमन अनिवार्य छ ।’
थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले राजधानी बैंककमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले कम्बोडियाको युद्धविराम उल्लंघनका विषयमा मलेसिया, अमेरिका र चीनसँग औपचारिक कुराकानी शुरू गरिसकेका छौं । तर, अहिले सीमामा शान्ति फर्किसकेको छ ।’
थाइल्याण्डको सिसाकेट प्रान्तको कान्थारालक जिल्लामा दैनिक जनजीवन पुनः सञ्चालनमा आएको छ । यो स्थान सीमा क्षेत्रभन्दा करिब ३० किलोमिटर टाढा पर्छ । उक्त स्थानमा अझै पनि दुवै देशका सैनिकहरूको बाक्लो उपस्थिति देखिन्छ ।
यसरी शुरू भएको थियो संघर्ष
दशकौंदेखि चलिरहेको सीमाविवादको पछिल्लो विस्फोट गत मे महिनाको अन्त्यमा एक कम्बोडियाली सैनिकको हत्या भएपछि शुरू भएको थियो । त्यसपछि दुवै देशले सीमा क्षेत्रमा सैनिक जमघट बढाएका थिए, जसले युद्धको रूप लियो ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रिय पहलपछि शान्ति वार्ता सम्भव भएको थियो । राष्ट्रपति ट्रम्पले थाइ र कम्बोडियाली नेताहरूलाई भनेका थिए, ‘यदि युद्ध जारी रह्यो भने व्यापार वार्ता अगाडि बढ्दैन ।’
थाइल्याण्ड र कम्बोडियाका सामानहरूमा अमेरिकामा अहिले ३६ प्रतिशतसम्मको भन्सार लागिरहेको छ । युद्धविरामपछि राष्ट्रपति ट्रम्पले दुबै देशका नेताहरूलाई फोन गरेर आफ्नो व्यापार टोलीलाई वार्ता पुनः शुरू गर्न निर्देशन दिएको जानकारी गराएका छन् । थाइल्यान्डका अर्थमन्त्री पिचाई चुनहवाजिराले भने, ‘अमेरिकासँगको व्यापार वार्ता अगष्ट १ भन्दा अगाडि नै टुंगिनेछ भन्ने अपेक्षा छ । अमेरिकी भन्सार दर ३६ प्रतिशतसम्म पुग्ला भन्ने लागेको छैन ।’


















