तुलसीपुर । यहाँ एक महिनामा एक हजार ७०० मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सुरु भएको नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिकमा सो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन् ।
गत असोज १२ गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिकमा बिहीबारसम्म एक हजार ६८० जना नयाँ मतदाता थपिएका हुन् ।
यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनको तयारीका बेला दैनिक कम्तीमा पनि ५०० भन्दा बढीले नामावली दर्ता गराउने गरेका स्मरण गर्दै कुँवरले यस पटक एक महिनामा दुई हजार पनि नपुगेको बताए । जिल्ला प्रशासनमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने भने घुइँचो लागेको उनको धारणा छ ।
राजनीतिक दलहरू पनि यस पटक मतदाता दर्ता अभियानमा सक्रिय नभएकाले दर्ता हुनेको सङ्ख्या कम देखिएको सूचना अधिकारी कुँवरले बताए । उनका अनुसार यही कात्तिक ३० गतेसम्म नामावली दर्ता र अद्यावधिक गर्ने मिति तय भएको छ ।
दाङमा हाल तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । अहिले कूल मतदाता सङ्ख्या चार लाख १६ हजार ७३५ पुगेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । तीमध्ये दुई लाख ११ हजार ७१६ महिला, दुई लाख पाँच हजार १७ पुरुष र अन्य दुई जना मतदाता रहेका छन् ।















