चितवन– पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। माउण्टेन टिभी काठमाडौँमा कार्यरत पुडासैनी गएराति चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए। खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो। प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए। उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए। यसअघि उनले न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए।


















