सिचुपाठ सालाद्वारा एक हप्ते हस्तलेखन प्रशिक्षण कार्यक्रम सञ्चालन

55

काठमाडौं । टोखा नगरपालिका वडा नं. ३ को सहयोगमा सिचुपाठ सालाद्वारा एक हप्ते हस्तलेखन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रम सिचुपाठ साला की संस्थापक अध्यक्ष सुमिता महर्जनको सभापतित्व तथा टोखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रमेश डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

२०८२ साल पुस १९ गते शनिबारदेखि सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम सरस्वती स्कुलमा हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुँदै आएको छ। कार्यक्रममा ४० जना बालबालिकाहरू सहभागी भई नेपाली तथा अंग्रेजी हस्तलेखनसम्बन्धी प्रशिक्षण लिइरहेका छन्।

कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष रमेश डंगोलले यस्ता सिर्जनात्मक कार्यक्रमहरू बालबालिकाको समग्र विकासका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै आयोजकलाई धन्यवाद ज्ञापन गरे।

उनले हस्तलेखन प्रशिक्षणसँगै वडा स्तरीय हस्तलेखन प्रतियोगिता आयोजना गर्न सुझाव दिँदै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने धारणा व्यक्त गरे। साथै, आगामी दिनमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

कार्यक्रमकी सभापति सुमिता महर्जनले प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री तथा बिहानको चिया–खाजाको व्यवस्था गरिएको जानकारी दिइन्।

उनका अनुसार कार्यक्रम आयोजना गर्नुका प्रमुख उद्देश्यहरूमा विद्यार्थीहरूको हिउँदे बिदाको सदुपयोग, नेपाली तथा अंग्रेजी हस्तलेखनलाई आकर्षक बनाउने, टिभी, मोबाइल र अनलाइन गेमबाट बालबालिकाको ध्यान हटाई रचनात्मक क्रियाकलापतर्फ आकर्षित गर्ने, राम्रो हस्तलेखनमार्फत आत्मविश्वास वृद्धि गर्ने तथा सत्कर्म र सकारात्मक सोचको विकास गराउने रहेका छन्।

प्रशिक्षणको अन्तिम दिन वडा स्तरीय हस्तलेखन प्रतियोगिता आयोजना गरिने र सहभागी सबै बालबालिकालाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यस्ता उपयोगी कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता आयोजक संस्थाले व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here