काठमाडौं / नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले आफ्ना समस्याहरुमा समाधानमा ध्यान नदिएको भन्दै गम्भिर आपत्ति जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे महासंघले आफ्ना समस्याहरुप्रति बारम्बार ध्यानाकर्षण गराउँदापनि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन् ।
कार्यक्रममा महासंघका अध्यक्ष नरेश कटुवालले ‘देशमा राजनैतिक परिवर्तन भई स्थिर सरकार निर्माण भएतापनि साना तथा मझौला उद्यागी व्यवसायीहरुका समस्याहरु समाधानको लागि ठोस कदम नचालिएको गुनासो पोख्नु भयो ।’ उहाँलेले आफूहरुलाई राजनैतिक तहबाट समस्या समाधान गर्नको लागि आश्वासनमात्र दिएता पनि खासै पहल नगरिएको बताउनुभयो । देशको मेरुदण्डको रुपमा रहेको नेपाल–चीन सिमानामा हुने एकात्मक सिण्डिकेटको अन्त्य गर्दे सहज रुपमा व्यवसायीहरुलाई केरुङसम्म जानको लागि निश्चित् समयसम्मको लागि पासको व्यवस्था हुनुपर्ने उहाँको भनाइ थियो ।
मुलुकमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनपश्चात् स्थिर सरकार निर्माण भएपनि सरकारले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई वेवास्ता गरेको आरोप लगाएको छ । आफुहरुको व्यवसायलाई धराशायी पार्न खोजेको आरोप लगाउदै उहाँले बैंकहरुले लिने चर्को ब्याजदरलाई समायोजन गर्नपनि नेपाल सरकारसंग माग राख्नु भयो । लाखौं व्यवसायीहरु यसको प्रत्यक्ष मारमा परेको भन्दै बैंक तथा बित्तिय संस्थाहरुले ब्याजदर रेट घटाउनुपर्ने माग राख्नु भयो ।आफुहरुले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित सबै निकायहरुमा मागहरुबारे जानकारी गराउदापनि कुनै सुनुवाई नभएको भन्दै देशभरि रहेका छाता संगठनहरु आन्दोलनमा उत्रिनुको विकल्प नरहेको उनले चेतावनी दिनु भयो ।
दश हजारभन्दा बढि उद्योगी, व्यवसायीहरु र लाखौं नागरिकले रोजगारी पाईरहेकोे आफ्नो व्यवसाय सहजताको निम्ति चीनसगं जोडिएका तातोपानी नाकाहरु इथाशिघ्र्र सञ्चालनको लागि पहल गनुपर्नेमा उहाँको जोड थियो । अब्यवस्थित् फुटपाथले दैनिकीमा अप्ठ्यारो परेको भन्दै व्यवस्थापनमा सरकारले पहल गर्नुपर्ने पनि उहाँले बताउनुभयो । केरुङबाट सामान आयात गर्दा व्यवसायीहरुलाई सहजता नभएको भन्दै उहाँले विभिन्न क्षेत्रमा रहेका सिण्किेट अन्त्य गर्नुपर्ने माग राख्नु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै महासंघका महासचिव टेक बहादुर शाक्यले सात वटै प्रदेशमा नीजि क्षेत्र र सरकार सम्मिलित औद्योगिक करीडोरको स्थापना गर्नुपर्ने माग राख्नुभयो । साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई यस क्षेत्रमा आवश्यक नीति तथा नियम बनाउँदा सरकारले समावेशी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष नैनबहादुर पण्डितले खुला सिमानको कारण सिमामा दिन प्रतिदिन चोरी–पैठारी बढ्दै गैरहेको भन्दै यसलाई रोक्न तत्काल सम्बन्धित निकायबाट पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
महासंघले नेपाल–चीनको प्रमुख नाकाका रुपमा रहेको केरुङसम्म जानको लागि सहजताका साथ निश्चित समयका लागि पास उपलब्ध हुनुपर्ने, बैङ्क तथा वित्तीय संस्थाबाट लिइने चर्को व्याजदर तत्काल घटाउनुपर्ने, भन्सार दरबन्दीमा न्यूनीकरण गर्नुपर्ने, वैज्ञानिक घरभाडादर निर्धारण गनुपर्ने, अव्यवस्थित फुटपाथ व्यवस्थापन गर्नुपर्ने, चीनसँग जोडिएका तातोपानी लगायत सबै नाकाहरु यथाशीघ्र सञ्चालनका लागि पहल गर्नुपर्ने, विभिन्न क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य हुनुपर्ने, सातवटै प्रदेशमा निजी क्षेत्र र सरकार सम्मिलित औद्योगिक करीडोरको स्थापना गर्नुपर्ने, साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई यस क्षेत्रमा आवश्यक नीति नियम बनाउँदा सरकारले समावेशी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने र नेपाल–भारत खुला सिमाना रहेका कारण दिनप्रतिदिन चोरी पैठारी बढ्दै गईरहेको छ यसलाई रोक्न तत्काल सम्बन्धित निकायबाट पहल गर्नुपर्ने दश बुँदे माग अघि सारेको छ ।



















