किसानहरू बँदेल–बाँदरको अतिक्रमण र अतिवृष्टि–अनावृष्टिको मारमा

1

 काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले किसानहरू बँदेल–बाँदरको अतिक्रमण र अतिवृष्टि–अनावृष्टिको मारमा परिरहेको जनाएका छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सल्यानमा लगातार तीनपटकको विनाशकारी असिना र वर्षासहितको जलवायुजन्य प्रकोपले व्यवसायीक कृषितर्फ आकर्षित हुँदै गएको जनतालाई गम्भीर आघात पुर्‍याएको जनाए।

उनका अनुसार गत शनिबार बागचौर नगरपालिका, छत्रेश्वरी र कपुरकोट गाउपालिका लगायतका क्षेत्रमा असिनापानी परेको थियो । त्यसपछि  शारदा नदीमा आएको बाढीले सयौं रोपनी खेत पुरिएको, पाकेको गहुँ, तरकारी तथा सुन्तला, आँप, लिची, ओखर, टिमुर, किवी, स्याउलगायत फलफूलबाली नष्ट भएको उनले सुनाएका थिए ।

उनले अ ग्रामीण सडक, सिँचाइ कुलो, खानेपानी योजना र तटबन्ध संरचना क्षतविक्षत हुँदा जनजीवन नै कष्टकर बनेको जानकारी गराए ।  तत्कालका लागि तीनै तहका सरकारको समन्वयमा पीडित किसान र क्षतिग्रस्त संरचनाको यथार्थ लगत संकलन गरी राहत, क्षतिपूर्ति तथा पुन:स्थापनाको व्यवस्था गर्न तथा कृषि विमा कार्यक्रमलाई प्रभावकारी बनाउन उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

‘एकातिर बँदेल, बादरलगायत जंगली जनावरको अतिक्रमण, अर्कोतिर अतिवृष्टि र अनावृष्टिको मारले किसानमा आशा हराउँदै गएको छ’ उनले भनेका छन्, ‘यसमा सरकार बेखबरझैँ बन्नुले राज्यप्रतिको भरोसा समेत कमजोर बनेको छ । सरकार अभिभावक बनोस र पीडितको घाउमा मल्हम लगाओस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here