सीमा विवादबारेको अभिव्यक्तिको विरोध

0

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा विवादबारेको अभिव्यक्तिको विरोध गरेको छ ।

यस पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले विज्ञप्ति निकालेर यस्तो टिप्पणी गरेका हुन् । यो पार्टीले आइतबार पूर्व तालिका बिना नै प्रतिनिधिसभाको बैठक बसेको र प्रधानमन्त्रीलाई बोल्न दिएको भनेर पनि विरोध गरेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने जनाएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।

यसको विरोध गर्दै श्रम संस्कृति पार्टीले विज्ञप्ति निकालेको हो ।

‘रास्वपाको सभापति भारत जानुअघि भारतलाई रिझाउनलाई हो या किन हो कहिल्यै नआउने र नबोल्ने प्रधानमन्त्री सदनमा आएर रोस्टममा उभिएर नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ भन्ने अभिव्यक्ति दिनुले हाम्रो सिमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक लिम्पियाधुरा फिर्ता गर्नु पर्छ भन्ने हाम्रो मागलाई साम्सुम पार्ने, नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनु पर्ने राष्ट्रघाती वदनियत प्रष्ट पारेको छ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको पदले बोलेको यो कुराले अन्तराष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्ने बारे गम्भीर अस्पष्टता व्यक्त गरेको श्रम संस्कृतिको ठहर छ ।

नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरीब जनताका बस्ती सुकुमबासी बस्तीमा हमला गर्नमै सिमित राख्दै आएको सरकारले सिमानामा सेनालाई नपठाउनु बरु उल्टै नेपालले भारतको सिमा धेरै ठाउँहरुमा मिचेको भन्नुले सिमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रधानमन्त्री र सरकार प्रतिबद्ध नरहेको देखाएको श्रम संस्कृति पार्टीको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here