काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। भेटवार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा रास्वपा सभापति लामिछानेसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत गरेको उल्लेख गरेका छन्। उनले नेपाल भारतको ‘छिमेकी पहिलो’ (नेबरहुड फस्ट) नीतिअन्तर्गत सधैँ प्राथमिक साझेदारका रूपमा रहँदै आएको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री मोदीले नेपालसँगको विशेष र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरेर दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरे।
रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँको राजनीतिक नेतृत्वसँग विभिन्न चरणमा महत्त्वपूर्ण भेटवार्ता गरिरहेको छ। प्रधानमन्त्री मोदीसँगको यस उच्चस्तरीय भेटलाई नेपाल–भारत सम्बन्ध तथा दुई देशबिचको राजनीतिक संवादलाई थप मजबुत बनाउने एउटा महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्री मोदीले सार्वजनिक गरेको सन्देशले नेपाललाई भारतको विदेश नीतिमा उच्च प्राथमिकतामा राखिएको सङ्केत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। साथै, यस भेटवार्ताले दुई देशबिचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशामा सहकार्य विस्तार हुने विश्वास लिइएको छ।

















