काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्याल पक्राउ परेका हुन्।
सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रमिकसँग ठगी गरी संकलन गरिएको रकममध्ये अमेरिकी डलर ८ करोड ३० लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३ करोड ७१ लाख ७९ हजार ९८० मलेसिया पठाइएको थियो। उक्त रकम नेपाली रुपैयाँमा १ अर्ब ६९ करोड २ लाख २४ हजारभन्दा बढी हुन्छ।
प्रहरीका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा संकलित रकम विदेशी मुद्रा अपचलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल प्रत्यक्ष संलग्न रहेको आरोप छ। उनले आफ्नो पदीय जिम्मेवारी र कर्तव्यविपरीत श्रमिकमाथि भएको ठगीमा कानुनी उपचार नगरी रकम मलेसिया पठाउने निर्णयमा भूमिका खेलेको प्रहरीको दाबी छ।
सीआईबीले उक्त प्रकरणमा अनुसन्धान गर्न मंसिर २ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो।
स्याङ्जाको करेन्डाँडा–४ स्थायी घर भएका ५९ वर्षीय अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव हुन्। प्रहरीले उनीमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।



















