मिडिया सेन्टरको उद्घाटन

20

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनका लागि प्रचारप्रसार तथा सञ्चार व्यवस्थापन गर्न स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ गरेको छ ।

महाधिवेशनका लागि गठित देउवा समूहको प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् ।

मिडिया सेन्टर शुभारम्भ गर्दै नेता महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरे । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने जनाए ।

पार्टीभित्र देखिएको विवादका सन्दर्भमा बोल्दै महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गरे । सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन उनले आग्रह गरे ।

‘हामी आधिकारिक कांग्रेस हौं भनेर मैदानमा निस्किएका छौं । नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन,’ नेता महतले भने, ‘सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौं । हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो ।’

उनले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि उनले बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको धारणा थियो ।

महतले पार्टीको संगठनात्मक एकता र समावेशी सहभागिता महाधिवेशनको प्राथमिकता हुनुपर्ने जनाए ।

देउवा समूहले २१–२३ मंसिरमा काठमाडौंको खुलामञ्चमा १५औं महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको छ ।

यसअघि महाधिवेशनको मूल तयारी समितिले प्रचार–प्रसार समितिको संयोजकमा महतलाई जिम्मेवारी दिएको थियो । त्यस्तै, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here