माओवादी आन्दोलन र प्रचण्डको दिल्ली भ्रमण

235

हुकुमबहादुर सिंह

माओवादी आन्दोलनलाई माकेमा संगठित गर्दै र नेपाली कांग्रेसको गठबन्धनमा सरकारको नेतृत्व गर्दै पुष्पकमल दाहाल प्रधानमन्त्रीका रूपमा दिल्लीको भ्रमण गर्दैछन् । उनको सरकारले निर्धारण गरेका मुख्य चारवटा एजेण्डा छन्: संविधानको कार्यान्वयन, घोषित तीनवटा निर्वाचन सम्पन्न गर्ने, शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र भूकम्पपछिको पुनर्निर्माण गर्ने । यी सबै एजेण्डाहरूमध्ये मूल एजेण्डा संविधानको कार्यान्वयन नै हो । संविधानको कार्यान्वयनको जिम्मेवारी दिल्लीले अब प्रचण्ड नेतृत्वको सरकारमाथि आउने वातावरण बनाएको छ । दिल्ली चाहन्छ, संविधानको कार्यान्वयनको अर्थ नेपाललाई भूटानको दर्जा दिने हो । नेपाललाई भुटान बनाउन उसले अहिले माओवादी आन्दोलनका नायक प्रचण्डलाई रोजेको छ ।
प्रचण्ड जसले संविधानको घोषणा गर्ने समयमा जे जस्तो राष्ट्रवादी र स्वतन्त्र पहिचान बनाउन सफल भएका थिए । प्रचण्डले ओलीलाई अगाडि सारेर पछि पनि सिधै मोदीसित टक्कर लिएको मानिसले सोचेका थिए । तर अहिले उनी जे जसरी सरकारमा आएका छन्, त्यसले उनको त्यो राष्ट्रवादी छविमा खिया लाग्न थालेको आभाष हुन थालेको छ । भविश्यमा उनले गर्ने भारतको भ्रमणले यसलाई झन् उठ्नै नसक्ने गरी रसातलमा पुर्‍याउने हो वा उनले पनि दिल्लीमा विगतका नेपालका प्रधानमन्त्री ओलीले लिए जत्तिकै अडान लिने हुन् ।
बुद्धिजिवीहरूले भनेका छन्– ‘उनले वर्तमानमा घेरै चीज गर्नै पर्दैन । केबल माथिल्लो कर्णाली, फाष्ट ट्रयाक, अरुणआदि आयोजनाहरू नेपालकै लगानीमा गर्ने निर्णय गरे भने । नेपाल–भारतबीचका १९५०लगायत अन्य असमान सन्धी सम्झौताहरूको पुनराबलोकन गर्ने शाहस मात्रै गरे भने ।’ तर यी काम अब उनको नेतृत्वको सरकारबाट हुन सक्ने सम्भावना ज्यादै न्यून छ किनभने नेपाली कांग्रेस जो भारतको हितमा काम गर्ने इतिहास बोकेको पार्टी हो, जो प्रचण्डको बलियो हिस्सेदार बनेको छ । तैपनि उनलाई चिन्नेहरू भन्दैछन्– ‘के प्रचण्ड अब ओलीजत्तिकै पनि राष्ट्रवादी नरहलान् त ?’ हो दिल्ली चाहन्छ, उनको मात्रै नभई नेपालका नेताहरूको राष्ट्रवाद नेपाली जनताका नजरमा स्खलित बन्दै जाओस् र नेपाल सरकार दिल्लीको आशिर्वादमा बन्ने, विघटन हुने आम नेपालीमा सर्वस्वीकार्य होस ।
विगतमा प्रचण्डकै पहलकदमीमा झलनाथ खनाल र केपी ओलीको सरकार दिल्लीको आशिर्वादबिना बनेको इतिहास नभएको होइन । नेपालको संविधान २०७२ को घोषणा पनि उनकै पहलकदमीमा भएको हो तर अहिले उनी जे जसरी सरकार बनाउने खेलमा दिल्लीलाई उनका हरेक निर्णयमा सहभागी बनाउन पुगे, यसबाट उनको राष्ट्रवादी इतिहास धमिलो बन्ने सम्भावना बलियो देखिादै गएको छ । अहिले उनी प्रधानमन्त्री भएकोमा सबैभन्दा खुशी मोदी र भारतीय जासुसी संस्था ‘रअ’ देखिएका छन् । मोदीको हितमा काम गर्ने नेपाली नेताहरू र प्रशासकहरू पनि अहिले दाहाल प्रधानमन्त्री भएर कम खुशी देखिएका छैनन् । दाहाललाई थाहा नभएको होइन्, एक समयका विरोधीहरू अहिले किन उनीप्रति खुशी भएका छन् भनेर । दाहालको अस्थिर चरित्र र सत्तालिप्साको राजनीतिबाट फाइदा लिन उनीहरू लालायित छन् । चीन सधैजस्तै अहिले पनि ‘पर्ख र हेर ’को रणनीतिमा छ । उ चाहन्थ्यो माओवादी र एमालेको सरकार टिकिरहोस् र ओलीसित उसले गरेका विकाससम्वन्धी केही महत्वपूर्ण कार्यहरू सम्पन्न होउन् , नेपाल र नेपाली जनताले प्रत्यक्ष फाइदा लिएको अनुभूति गरेको देख्न पाइयोस् । उसलाई थाहा छ, ओलीको व्यक्तिगत अहंकार र दाहालको सरकारमा जे जसरी पनि जाने सोचको परिणाम यो दुर्घटनामा भारत अहिले खेल्न सफल भएको छ ।
विश्व साम्राज्यवाद खासगरी भारतीय विस्तारवादका लागि नेपालको कम्युनिष्ट आन्दोलन मूलत: माओवादी आन्दोलन अझ पनि अगाडि आउने हो कि भन्ने बलियो शंका छ । जसका लागि उ मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लाई कसरी ध्वस्त बनाउने रणनीतिमा लागेको छ । यही रणनीति अन्तरगत पहिले विप्लवहरू र अहिले बादलहरू उक्त पार्टी विभाजन गरेर मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी) लाई सांगठनिक रूपले कमजोर बनाउन सफल भएका छन् । क्रान्तिको नाममा विप्लव के गर्दैछन् र बादल कहाा पुगेर थन्किए घामजत्तिकै स्पष्ट भएको छ । विश्व साम्राज्यवाद भारतीय विस्तारवादमार्फत नेपालको माओवादी आन्दोलनका दुई नायकहरू प्रचण्ड र बाबुराममार्फत नेपालको माओवादी आन्दोलनलाई इतिहासको विषय बनाउन चाहन्थ्यो, जसमा अहिले उ सफल देखिएको छ । बाबुराम त अब यसबाट अलग भएर मात्रै गएनन्, राजनीतिक, वैचारिक र सांगठनिक रूपमै आमूल परिवर्तन भन्दै खुलेरै साम्राज्यवादी र विस्तारवादी क्याम्पमा खडा हुन पुगे तर प्रचण्ड भनें अझै बाबुरामको आडविहीन भएर माकेको नेतृत्वमा नै रहेर समग्र माओवादी आन्दोलनलाई ध्वस्त बनाउने त लागेका होइनन्, शंकागर्ने अवस्था भने देखिएको छ ।
तैपनि ‘विदेशी प्रभुका अगाडि म झुक्दिन, बरु प्रधानमन्त्रीबाट राजीनामा दिन तयार छु ’ भन्दै राजीनामा दिने एक समयका प्रचण्ड नै हुन् । तर एक ८० डिग्रीको फन्को मार्दै उनी नै अहिले मलाई दिल्लीले पुरस्कृत गरेको छ भन्ने पुष्पकमल दाहालमा परिवर्तन भएका छन् । हेरौं, उनको दिल्ली भ्रमणले ओलीको राष्ट्रवादलाई नेपाली जनताका नजरमा अझ बढता चम्काउने हो कि पुष्पपकमल दाहाललाई प्रचण्डकै रूपमा नेपालीले देख्ने हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here