काठमाडौं÷ पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूका लागि नयाँ बाटोको आवश्यकता नभएको भन्दै पुरानै व्यवस्था नेपालका लागि उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । यही असोज ४ गते विराट हिन्दू सम्मेलनको पशुपतिस्थित वनकालीमा उद्घाटन तथा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले कहिल्यै पराजित नभएको नेपाल, कुनै बेला विश्व शान्ति, अध्यात्म संचेतना र सहिष्णुताको उपमा भए पनि हालको अवस्थाबारे सोच्नैपर्ने बेला आएको जनाएका छन् । राष्ट्रको समग्र परिस्थिति र बितेका केही वर्षका राजनीतिक गतिविधि, चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहीन यात्रा नेपालका लागि अभिशापसिद्ध भएको भन्दै उनले यस्तो विषम, जटिल र क्लिष्ट परिस्थिति र यसका कारक तत्वहरूका बारेमा नेपाली जनताले प्रश्न गर्नुपर्ने बेला आएको जनाएका छन् । राजनीतिक दलहरूले अवलम्बन गरेको निषेधको राजनीतिप्रति निकै आक्रमक देखिएका पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति र उपेक्षाले विद्रोह जन्माउने चेतावनी समेत दिएका छन् । स्वदेशी तथा विदेशी धर्मगुरुहरूको बाक्लो उपस्थितिका बीच पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको पूर्णपाठ यस्तो छ ।
जगत्गुरु शंकराचार्य, मठाशीश, गुरुवाचार्य र यस अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलनमा उपस्थित हुनुभएका ओमकार परिवारका धर्मगुरु तथा हिन्दू दर्शनका चिन्तकहरू ।
धार्मिक, दैविक र प्राचीन ऐतिहासिक तथ्य बोकेको नेपाल भूमिमा आई समारोहको उद्घाटन गर्ने अवसर प्रदान गर्नुहुने अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन आयोजक तथा यहाँ उपस्थित सबै धर्मपरायण, संघसंस्था तथा आस्थाका पात्रहरूप्रति पनि म आभार व्यक्त गर्दछु ।
हिन्दू धर्म एवम् दर्शन विश्वकै महान् र उदार छ । अध्यात्म जीवन पद्धति विश्वकै निम्ति अनुकरणीय छ । सनातन मान्यता, मौलिक विशेषता र आफ्नै प्रकारको उदार आस्था तथा आदर्श हाम्रो धर्मको सार संक्षेप हो भन्ने मलाई लाग्दछ । विश्वको यो प्राचीन ऐतिहासिक पाशुपत क्षेत्रमा विश्वकै अग्रगन्य आचार्य, गुरु, सन्त, महात्मा, पीठाधिश एवम् विद्वान् विवेचकहरूको भेला हुनु आफैँमा स्तुत्य कार्य हो । म यहाँ पाल्नुभएका जगत्गुरु शंकराचार्य, मठाधीश, पीठाधिश, गुम्वाचार्य र विभिन्न आश्रम प्रमुख धर्माधिमहरूप्रति हार्दिक नमन गर्न चाहन्छु ।
धर्म जो धारण गरिन्छ त्यसको धेरै कारण छन् । आत्म उन्नति, परमार्थ र परमपुण्य मात्र होइन, धर्मले राष्ट्र, समाज एवम् सामाजिक सद्भावको आवश्यकतालाई पनि उजागर गर्दछ । राष्ट्रको आस्था, अखण्डता, एकता, सहिष्णुतालाई अभिवृद्धि गर्न र आन्तरिक एवम् अन्तर्राष्ट्रिय सद्भावको प्रवद्र्धन गर्न पनि यस्तो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ भन्ने मेरो धारणा छ ।
सम्पूर्ण हिन्दू दर्शन एवम् संस्कृतिमा हिमाललाई देवभूमि मानिएको छ । त्यसको मध्यमणि समान विविधताले नेपाल स्थापना गरी हिमालको शोभा र नेपालको महत्व बढाएको छ । यसै धार्मिक भावनाबाटै नेपालले देवभूमि, तपोभूमि, योगभूमि भन्ने नाम पाएको छ । हिन्दू अनुयायीका आराध्यदेव पशुपतिनाथले यसैकारण आफ्नो संरक्षणमा राख्नुभएको छ । चारै वेद, उपनिषद, अठार पुराण, भागवतगीता, रामायण, महाभारत आदि ग्रन्थहरू र ऋषि, ऋषिका, महर्षि, सन्त, महन्त, महापुरुषहरू कैलाश पर्वतदेखि गंगाको मैदान हुँदै कन्याकुमारीसम्मका उपज हुन् । अनादिकालदेखि चल्दै आएको वैदिक सनातन हिन्दू धर्म ओमकार परिवारमा बौद्ध, किराँत, प्रकृतिपुजक, जैन, शिख आदि समष्ठिहित केन्द्रित अध्यात्मवादको उद्गम पृष्ठभूमि हो ।
गुरु गोरखनाथको आशीर्वाद प्राप्त यो भूमिमा हामी एकत्र भएका छौँ । नेपाल हिन्दू, बौद्धहरूका लागि सधंै प्ररणाको अक्ष्य स्रोत हो । आज हाम्रो धर्म, संस्कृतिमाथि कालो बादल मडारिएको छ, तसर्थ हाम्रो परम्परागत धर्म, संस्कृति र सभ्यतालाई पुनजागृत र सुसंस्कृत बनाउन एकबद्ध गर्नुपर्ने खाँचो देखापरेको छ ।
जनसुकै युग, देश र कालमा पनि सत्य, सत्य नै रहन्छ, त्यसैगरी असत्य, असत्य नै ! यो कुरा हाम्रा ऋषि महर्षिले सिकाएका हुन् र मानव मात्रले अनुभव गरिआएको कुरा हो । आफ्नो भाषा, इतिहास, धर्म, दर्शन र संस्कृति देशका धरोहर हुन्, वैभव हुन् र प्राण हुन् । यिनको समुचित रूपमा संरक्षण, संवद्र्धन र समादर गरेर नै आफ्नो मुलुकलाई ओजस्वी, तेजस्वी बनाउन हामी सबै जागृत हुनु परेको छ ।
हाम्रो दर्शनलाई नयाँ बाटो चाहिएको छैन । तर नयाँ सोच आवश्य चाहिएको छ । यस्तो सोच होस् जसले पुरानै बाटोमा हामी अगाडि बढ्न सकौँ । नयाँ दायित्व होइन तर यस्तो शक्ति होस् जसले भइरहेकोलाई सजिलोसँग फैलाउन सकोस् । भविष्य भनेको एउटा सेतु होस् जसमा आस्था र विकासको जरा, मानवीय अनुभव र आत्मीयताले भरिभराउ होस् ।
कहिल्यै पराजित नभएको नेपाल, कुनै बेला विश्व शान्ति, अध्यात्म संचेतना र सहिष्णुताको उपमा थियो भने, आज हामी कुन अवस्थामा छौँ भनेर सोच्नैपर्ने बेला आएको छ । राष्ट्रको समग्र परिस्थिति र बितेका केही वर्षका राजनीतिक गतिविधि समेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहिन यात्रा हाम्रा निमित्त अभिशाप सिद्ध भएका छन् । यस्तो विषम, जटिल र क्लिष्ठ परिस्थिति किन र कसरी सिर्जना भयो, यसका कारक तत्व के–के हुन्, भन्ने कुरा अब नेपाली जनताले नै प्रश्न गर्नुपर्ने बेला भएको छ ।
सनातन धर्म, संस्कृति र सभ्यताको प्राचिन भूमि नेपालले आफ्नो मौलिक चिनारी हजारौ वर्षको पुरानो सभ्यता, परम्परागत धर्म, संस्कृति तथा राष्ट्रियताप्रतिको संवेदनशीलतालाई हृदयगम गरेर सबै मिलर अघि बढ्ने हो भने हामी पुनः दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा गर्न सक्दछौँ ।
राजर्षि जनककका आदर्श, बुद्धका वाणि, स्वामी विवेकानन्दका विचार तथा अन्य अनेकौँ विद्वान् र विदुषीहरूले देखाएको बाटो र हजारौँ वर्षदेखि हाम्रा पूर्वजबाट विरासतमा प्राप्त सद्गुण र सद्विचार अनुशरण गर्दै अगाडि बढ्नसके मात्र ज्ञान र विज्ञानका बीच सन्तुलन कायम गर्न सक्दछौँ । गाई, गंगा, गुरु, गायत्री, वेद, उपनिषद, गीताका पूजक सनातन हिन्दू अनुयायीका रूपमा प्रश्न गर्न चाहन्छौँ कि विश्व मानचित्रको हिन्दू तथा बौद्ध अग्रणी नेपाल तथा समस्त हिमवत्खण्डको संरक्षण कसरी हुन सक्दछ ? दुई ठूला छिमेकीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सेतु हिमवत् खण्ड नेपालको धर्म, संस्कृति, सभ्यता र अध्यात्मको केन्द्र जोगाउने के सामूहिक दायित्वभित्र पर्दैन ?
तराईमा बसोबास गर्ने नेपालीहरू आफ्नो धार्मिक साध्य पूरा गर्न पहाडी र हिमाली क्षेत्रमा अवस्थित मुक्तिनाथ, गोसाईकुण्ड, हलेसी र पाथिभरा जस्ता पवित्र तीर्थ स्थलसम्म पुग्छन् भने, हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको पवित्र धाम जनकपुर र लुम्बिनी रहेको छ । यसरी हामी नेपालीलाई धार्मिक दृष्टिले पृथक् भूगोलप्रति आस्था, विश्वास र भरोसाको कडीले एउटै सूत्रमा बुनेको छ ।
सनातनी हिन्दूहरू जो जहाँ छन् त्यही सुसंस्कृत, सभ्य र शान्त छन् । जहाँ हिन्दू हुन्छन् । त्यहाँ शान्ति र सद्भाव हुन्छ । असत्यलाई निरुत्साहि गर्दै सत्य स्थापित हुँदै जान्छ भन्ने उक्तिको चरितार्थ गर्दै विश्वमा उत्पन्न तनाव, विवाद र संघर्षको स्थितिलाई न्यूनीकरण गर्न आह्वान गर्दछु । हाम्रो साझा र एकताबद्ध प्रयासले मात्र विश्वको शान्ति, सभ्यता, मानवता, मानवोचित व्यवहार र समृद्धिको जगेर्ना गर्न सक्दछ ।
आज विश्वमा प्रकृतिले भोगेको विपन्न र असन्तुलनलाई सम्बोधन गर्ने दायित्वबाट मानवजाति पन्छिन सक्दैन । हाम्रो दर्शनले हामीलाई त्यसको संरक्षणको दायित्व सुम्पिएको छ । दर्शन बारे कोरा बहस हाम्रो लक्ष्य होइन र हुनु पनि हुँदैन । यस दर्शनबाट हामी कसरी निर्देशित हुने, जीवन र जगत् अनि राष्ट्रप्रति हाम्रो दायित्व के हुने यी विषय आजको सन्दर्भमा अझ बढी गम्भीर बन्न पुगेका छन् । हाम्रो दर्शनले हामीलाई सधंै अगाडि बढ्न निर्देशित गर्दछ तर व्यवहारमा निषेधको राजनीति आदि अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँदछ । असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरूमा विद्रोह जन्मिन सक्दछ । आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौँ भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ ।
अन्त्यमा बहुजन हिताय, बहुजन सुखायको मूल मन्त्रलाई आत्मसात् गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन । हामी सबै सनातनी ओमकार परिवारहरू यही साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुटौँ । श्री पशुपतिनाथले धर्म संस्कृतिको पुनरुत्थान गर्नमा हामी सबैलाई शक्ति प्रदान गरुन् ।
जय नेपाल ।


















