मुखर्जीलाई कालो झण्डा देखाउनेहरुलाई सार्वजनिक मुद्दा

171

काठमाडौं÷भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि कालो झण्डा देखाउने क्रममा कात्तिक १७ गते पक्राउ परेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्दं्र नेपालसहित अन्य चार जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक महिने तारेखमा रिहा गरेको छ । प्रमुख जिल्ला अधिकारीले मंगलबार उनीहरूलाई तारेखमा रिहा गर्न आदेश दिएका हुन् । मुखर्जीको भ्रमणका बेला त्रिभुवन एयरपोर्ट अगाडि ग्रेटर नेपालका अध्यक्ष नेपालले कडा प्रहरी घेराबीच कालो झण्डा देखाउँदै भारतीय विस्तारवाद मुर्दावाद भन्ने नारा लगाउँदै उनको भ्रमणको विरोध गरेका थिए । नेपालसँग पक्राउ परेका रामचन्द्र खड्कालाई पहिलो रात बालाजु प्रहरी वृत्तमा र तिलक रावल, योगेश बराल र अधिकारकर्मी शारदा भुसाल झालाई कमलपोखरी प्रहरी वृत्तमा राखिएको थियो भने भोलिपल्ट पाँचै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो । उनीहरूलाई केही सार्वजनिक अपराध मुद्दामा मुलुकी ऐन अ.ब. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई हिरासतमा राखिएको थियो । सामाजिक सञ्जालमा उक्त पक्राउको व्यापक विरोध भएपछि कात्तिक १९ गते प्रणव मुखर्जी फकिए लगतै राति ८ः०० बजे उनीहरूलाई कात्तिक २२ गते हाजिर हुने शर्तमा घर फर्कन दिइएको थियो । कात्तिक २२ गते बयान नै नलिई दिनभर काठमाडौं परिसरमा राखिएकोमा आज सरकारी वकिल कार्यालयमा बयान लिएपछि उनीहरूलाई धरौटीमा छाड्ने व्यापक आशंकाबीच प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाडेका हुन् ।
साधारण तारेखमा छुटेपछि जि.प्र.का. काठमाडौंको परिसरमा थोरै समर्थक र केही पत्रकारबीच मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले अन्यायपूर्वक नाकाबन्दी गरेर नेपाल र नेपालीलाई ध्वस्त र नष्ट पार्न चाहने भारतीय नोकरशाहीका प्रतिनिधि प्रणव मुखर्जीलाई कालो झण्डा देखाइएको हो भन्दै आफूहरूलाई पक्राउ गरेर गणतान्त्रिक सरकारले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको अधिकारमाथि अंकुश लगाई भारतलाई खुसी पार्न खोजेको आरोप लगाए । उनले अब ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ध्यान प्रस्तावित संविधान संशोधनका विषय सूचीमा केन्द्रित हुने बताउँदै अंगीकृत नागरिकले राष्ट्रपति हुन पाउने र सरकारी कामकाजको भाषाको सूचीमा हिन्दी भाषालाई समावेश गर्ने कुराको विरोधमा छिट्टै संघर्षका कार्यक्रम घोषणा गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here