भारतीय सत्तापक्षले बुझ्नैपर्ने विषय

162

–निमकान्त पाण्डे–
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको छ । नेपालमा आफूले पाएको आतिथ्यबाट आफू प्रफुल्लित भएको प्रतिक्रिया दिँदै मुखर्जी आफ्नो देश फर्किनुभएपछि नेपालमा मुखर्जीको भ्रमणबाट के उपलब्धि भयो भन्नेबारे चर्चा परिचर्चा सुरु भएको छ । लगभग दुर्ई दशकपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमण स्वाभाविकरूपमा चर्चाको विषय बनेको छ । त्यसो त भारतका प्रधानमन्त्रीहरूले यो दुई दशकबीचमा धेरैपटक नेपालको भ्रमण गरेका छन् । अझ भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले त दुईपटक नेपालको भ्रमण गरिसक्नुभएको छ ।
मोदीले नेपाल भ्रमणका क्रममा नेपालमा पाउनुभएको आतिथ्य पनि मुखर्र्जीकै जस्तो प्रफुल्लित हुनेखालकै थियो । यो कुरा स्वयं मोदीजीले नै व्यक्त गर्नुभएको हो । संविधान निर्माण प्रक्रियामा रहेको नेपालको संविधानसभाकक्षमा सम्बोधन गर्दाका अवस्थामा दशवर्षे जनयुद्धको कमाण्डिङ गरी शान्ति प्रक्रियामा अवतरण गरेका प्रचण्डसहितका नेताहरूबाट सभाकक्षभित्रै मोदीजीका अभिव्यक्तिको समर्थनमा ताली बजाएर स्वागत गरिएको थियो । सडकमा उभिएका साधारण नागरिकहरूसँग हात मिलाउने क्रममा मोदीजीले पाएको प्रशंसा पनि नेपालीहरूको तर्फबाट भएको आतिथ्य सत्कार नै हो । मोदीजीले नेपाली जनताका बीचमा अत्यन्तै लोकप्रियता हासिल गर्नुभएको थियो । परन्तु नेपाली जनताको न्यानो आतिथ्यलाई बिर्सिएर नेपालको तराई क्षेत्रमा बसोबास गर्ने जनतालार्ई मात्र आफ्नो निकट ठान्ने र उनीहरूकै लागि मात्र बढी चिन्तनशील बन्ने प्रवृत्ति मोदीजीमा देखिएपछि उहाँप्रति नेपाली जनता दुःखी बन्नु स्वाभाविकै हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाली जनताप्रति देखाएको सद्भाव र सहयोगभावको नेपाली जनताबीच व्यापक प्रशंसा भएको थियो । मोदीको नेपाल भ्रमणलगत्तै नेपाली जनताले भूकम्पको महाविपत्ति भोग्नुप¥यो । त्यस विपत्तिका घडीमा पनि छिमेकी देशको सरकार प्रमुखबाट हुनुपर्ने सहयोगमा मोदीजीले भारत सरकारको कार्यकारी प्रमुखका हैसियतबाट कुनै कमी देखाउनुभएको थिएन । परन्तु भूकम्पको प्रहारको पीडाबाट राहत महसुस गर्न नपाइरहेका नेपाली जनतालाई मोदीजीको तराईकेन्द्रित नेताहरूप्रतिको अनावश्यक र अशोभनीय सामीप्यले ठूलो पीडा दिलायो । तराईकेन्द्रित नेताहरूको गलत मागप्रति सहानुभूति दर्शाएर नेपाल र नेपाली जनताविरुद्ध नाकाबन्दी गर्ने अत्यन्त असहिष्णुतापूर्ण व्यवहारमा मोदीजी निर्लज्जतापूर्वक उत्रिनुभयो । नेपाली जनतालाई भूकम्पले दिएको भन्दा दशौं गुणा पीडा दिन मोदीजी सफल हुनुभयो ।
मोदीजीले नेपालमा नेपाली जनताबाट पाउनुभएको आतिथ्यको उपहारका रूपमा नाकाबन्दी महसुस गरियो । भूपरिवेष्टित नेपालको अवस्थालाई बेवास्ता गरी नाकाबन्दी गरेर दैनिक जीवनयापनमा नेपाली जनतामाथि संकट सिर्जना गर्ने र आफूलाई ‘भगवान्’ ठान्ने काम मोदीजीबाट भयो । मोदीजीको यो कामले उहाँ आफूलाई नेपालको जमिन्दार ठान्नुहुन्छ भन्ने प्रमाणित भएको छ । नेपाली जनतामाथि आफैँबाट लगाइएको नाकाबन्दीलाई मादीजीले आफ्नो जमिन्दारीको परिणाम ठान्न पुग्नुभयो । भूगोलले समुद्रलाई नजोडेकै कारणबाट नेपाली जनता भारतबाहेक अन्य मुलुकसँग व्यापार व्यवसाय गर्न नसक्ने अवस्थामा छन् ।
भौगोलिक अवस्थाकै कारणबाट उत्तरतिरको छिमेकी चीनसँग आवागमन सहज छैन । चीन र भारतबाहेक अन्य कुनै मुलुकसँग नेपालको सिमाना जोडिएको पनि छैन । नेपालको यो विशिष्ट अवस्थाप्रति जानकार हुँदाहुँदै र नेपाली जनताबाट अनपेक्षित सत्कार र प्रशंसा पाउँदापाउँदै पनि भारतको शक्तिशाली शासक बन्न पुगेका नरेन्द्र मोदीले नेपाली जनतालाई आफ्नो दास बनाउने ब्रिटिशकालीन शासकीय मानसिकता देखाउन पुग्नुभयो ।
नेपाली जनताले बैगुनीलाई पनि गुन लगाउनुपर्छ भन्ने सोच बनाएका छन् । यो कुरा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपाल सरकार र नेपाली जनताले देखाएको व्यवहारबाट पनि पुष्टि भएको छ । यो व्यवहारबाट नेपालले भारतसँग सम्बन्ध तोड्न चाहन्न भन्ने कुरा नरेन्द्र मोदीहरूले बुझ्नु जरुरी छ । नेपालले भारतबाट के चाहन्छ भन्ने कुरा भारतका कुनै पनि नेताहरूलाई जानकारी नभएको विषय होइन ।
नेपाल सरकारले सुगौली सन्धिबाट गुमाएको भूमि भारतसँग फिर्ता मागिरहेको छैन, नेपालका नदीनाला कब्जा गर्ने भारतीय दुराशयप्रति पनि नेपाल सरकार मौन भइरहेकै छ, नेपाल र भारतको सीमा क्षेत्रमा भइरहेको अतिक्रमणविरुद्ध पनि नेपाल सरकारले भारतसँग कुनै गुनासो गरेको छैन । सीमा क्षेत्रमा भारत सरकारले नेपाल सरकारको अनुमतिविना बाँध निर्माण गरेर नेपाली भूमिलाई जलमग्न गराउँदा पनि नेपाल सरकारले विनम्रतापूर्वक समस्या समाधान गर्न अनुरोध गर्नेबाहेक अरु कुनै अशिष्ट व्यवहार देखाएको छैन । परन्तु यी सबै गतिविधिहरूलाई नरेन्द्र मोदीजीहरूले सकारात्मकरूपमा लिन सकिरहेका छैनन् । आखिर भारतीय शासकहरू के चाहन्छन् ? नेपाली जनतालाई उनीहरूको चाहना स्पष्ट हुनु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here