पहाड र तराई छुट्याउने निर्णयको व्यापक विरोध

359

काठमाडौं÷ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको नेपाली कांग्रेस सम्मिलित गठबन्धन सरकारले पाँच नम्बर प्रदेशबाट तराईका जिल्लाहरू टुक्र्याउने प्रस्ताव क्याविनेटबाट पारित गरेसँगै पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा आन्दोलन चर्किएको छ । अस्ति मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले पाँच नम्बर प्रदेश टुक्र्याउनेलगायत विभिन्न सात बुँदे प्रस्ताव पारित गरेसँगै रूपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान र रोल्पालगायतका जिल्लाहरूमा व्यापक विरोध सुरु भएको छ । सरकारको निर्णयका विरुद्ध रूपन्देही अर्घाखाँचीलगायतका जिल्लाहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् भने अन्य जिल्लाहरूमा पनि व्यापक आन्दोलन सुरु भएको छ । सरकारको निर्णयको विरुद्धमा स्थानीय तहका प्रमुख राजनीतिक दलका नेता कार्यकर्ताहरू नै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण पाँच नम्बर क्षेत्रका जिल्लाहरूमा यातायात, उद्योग, कलकारखाना तथा शिक्षणसंस्थाहरूसमेत ठप्प छन् । आन्दोलनकारीहरूले मिलेर बसेका पहाड र तराईका जिल्लाहरूलाई छुट्याएर सरकारले भारतलाई तराई क्षेत्र सुम्पिन खोजेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । उनीहरूले सरकारले भनेजस्तो पहाड र तराईलाई टुक्र्याएर राष्ट्रिय एकता कायम हुन नसक्ने र तराई र पहाडको सामीप्यबाट मात्र एकता कायम हुने भन्दै सत्तारुढ दल तथा सरकारको व्यापक विरोध गरेका छन् । स्थानीयस्तरबाट जनता स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएपछि ती जिल्लाहरू ठप्प भएका छन् ।
यसैबीच नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकारी निर्णयको विरोधमा सुरु भएको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् भने नेकपा एमालेले आन्दोलनलाई देशव्यापी गराउने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here