वाम तालमेल भए नेपालमा समाजवाद पक्का

258

काठमाडौं/ संविधानसभाद्वारा निर्मित धर्मनिरपेक्ष संघीय गणतन्त्र, नेपालको संविधान २०७२ मा नेपाललाई ‘समाजवाद उन्मुख राष्ट्र’ परिभाषित गरिएकोमा अब नेपालका वामपन्थी दलहरूले त्यो गन्तव्यलाई सहजै प्राप्त गर्न सक्ने अवस्था देखिएको छ । स्थानीय तहको निर्वाचन परिणामले नेपाल समाजवाद बहालीका लागि उपयुक्त र परिपक्व अवस्थामा पुगेको देखाएको छ । दश वर्षे माओवादी जनयुद्धले देशमा विकसित गरेको राजनीतिक परिवर्तनलाई समयसापेक्ष ढंगले उपयोग गर्न सक्ने हो भने बुलेटबाट कायम गर्न नसकिएको समाजवाद ब्यालेटबाट कायम गर्न सकिने सम्भावना बढेको छ । बुलेटको युग र प्रचलन समाप्त भएर ‘ब्यालेट’बाट आमूल परिवर्तनसहित राजनीतिक प्रणाली बदल्न सकिने भएको निष्कर्षसहित माओवादीले दश वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धलाई स्थगन गरी शान्तिप्रक्रियामा रूपान्तरित भएपछि संसदीयधारका राजनीतिक दलहरूलाई आफ्नो एजेण्डामा डो¥याउन सफलता हासिल गरेको हो । माओवादीले युद्धलाई शान्तिप्रक्रियामा क्रमभंग नगरेको भए तत्काल राजतन्त्रको अन्त्य बिल्कुलै असम्भव थियो । राजतन्त्रको अन्त्यपछि गणतन्त्र स्थापनासँगै मुलुकलाई संघीय समाजवादी संरचनामा रूपान्तरित गर्ने वामपन्थीहरूको मात्र लक्ष्य नभएर नेपाली कांग्रेसको पनि त्यही लक्ष्य हुने कुरामा विश्वास गर्न सकिन्छ । नेपाली कांग्रेसका जननायक वीपी कोइराला पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादका पक्षधर हुनुहुन्थ्यो । कोइरालाकै राजनीतिक आदर्शमा हिंडेको नेपाली कांग्रेसले समाजवादको गन्तव्यलाई अस्वीकार गर्ने सम्भावना पनि रहँदैन ।
नेपाललाई समाजवादी संरचनामा रूपन्तरित गर्ने सवालमा नेपाली कम्युनिष्टहरूको महत्वपूर्ण योगदान हुनसक्दछ । त्यसैले नेपालका सबै कम्युनिष्टहरू एउटै थलोमा बसेर बहस चलाउनुपर्ने समय नजिकिएको महसुस सबैतिर भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रलाई चुनावी तालमेलका लागि आह्वान गर्नु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बैठकबाटै कम्युनिष्टहरूबीच एकता हुनुपर्नेमा जोड दिएको पाइएको छ । यी सबै संकेतहरू भावी चुनावका लागि वामपन्थी तालमेलका सम्भावनाहरू देखिएका छन् । नेपाललाई समाजवादी गणतन्त्र बनाउनतर्फ राजनीतिक र रणनीतिक पहल थाल्ने बेला आइसकेको वाम बुद्धिजीवी र विश्लेषकहरूले पनि महसुस गरेका छन् ।
नेपालका कम्युनिष्टहरूले माक्र्सवाद—लेनिनवाद र माओ विचारधारालाई केवल सीमित नेता र तिनका सीमित कार्यकर्ताका लागि संसदवादी पार्टीहरूसंग मिलेर सत्तामा गई नवधनाड्य बन्ने तथा बनाउने भ¥याङमात्र नबनाई नेपाली शोषित पीडितको मुक्ति र राष्ट्रिय स्वाधीनतालाई सवल बनाउने लक्ष्य वास्तवमै राखेका छन् भने इमान्दारिता देखाउने बेला आइसकेको छ । नेपालमा ब्यालेटकै माध्यमबाट बिनारक्तपात समाजवाद बहाल गर्न स्थिति र अवस्था परिपक्व भैसकेको विश्लेषण बुद्धिजीवहिरूले गरेका छन् ।
एमाले र माओवादी केन्द्रका नेतृत्वपंक्तिमा इच्छाशक्ति र चाहना भएको खण्डमा आगामी फागुन महिनाभित्रैमा नेपाललाई ‘संघीय समाजवादी गणतन्त्र’ घोषणा गर्न सकिने अवस्था विकसित भएको छ । स्थानीय तहमा सम्पन्न पहिलो र दोश्रो चरणका निर्वाचनको परिणामलाई केलाउँदा एमाले र माओवादी केन्द्रलेमात्र ६०.३८ प्रतिशत मत हासिल गरेका छन् । अब आगामी दिनमा एमाले र माओवादी केन्द्रले एकअर्काबीच तालमेल वा एकता गरेर प्रदेश नं. २ मा हुने स्थानीय तहको, तत्पश्चातको प्रदेश निर्वाचन, संघीय संसद्को निर्वाचन र राष्ट्रियसभाको निर्वाचनमा जान सके भने दुईतिहाइ बहुमतको र सो संभव नभए पनि आरामदायी बहुमत हासिल गर्न कसैले रोक्न सक्ने अवस्था छैन । यो गौरवशाली महान् ऐतिहासिक कार्यको सहयात्रामा एमाले र माओवादी केन्द्रका सर्वाेच्च नेताहरू इमान्दारिताका साथ छलफलमा बस्नुपर्ने सुझाव वाम बुद्धिजीवीहरूबाट प्राप्त भएको छ । माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेलका लागि सहमति बन्ने हो भने जनमोर्चा नेपाल र नेकपा मालेलगायतका सबै वाम दललाई समेटेर प्रदेशका ३३० सीट र संसदका १६५ वटै सीटमा एक÷एक जना मात्र उम्मेदवार खडा गरी निर्वाचनमा जाँदा पनि दुईतिहाइ बहुमत वामपन्थीको पक्षमा पर्नसक्ने संभावनालाई नकार्न नसकिने विश्लेषण बुद्धिजीवीहरूको पाइएको ।
राष्ट्रिय स्वाधीनताको एजेण्डामा गैरवाम कित्ताका देशभक्त, राष्ट्रवादी शक्ति र समूह पनि वाम एजेण्डामै आउन सक्ने बलियो सम्भावना देशको वर्तमान अवस्थाले देखाएको छ । वाम दलहरू एक भएर चुनावमा गएको खण्डमा दुईतिहाइ बहुमत टाढाको नहुने देखिन्छ । दुईतिहाइको नजिक पुग्नासाथ संविधान संशोधन गरेर संविधानमा समाजवादी एजेण्डा समावेश गर्न सकिने राजनीतिक वातावरण बन्दैगरेको अवस्थालाई नेताहरूले बुद्धिमत्तापूर्ण तरिकाले उपयोग गर्नु जरुरी छ ।स्थानीय तह, प्रदेश सभा र संघीय संसदमा बहुमत हासिल गर्नासाथ राष्ट्रियसभामा स्वतः वाम पक्षको बहुमत हुने दावीका साथ बिश्लेषकहरूले यसका लागि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल वाम एकताको लागि पहल थालिहाल्नुपर्नेमा जोड दिएका छन् । –जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here