महिला उम्मेदवारको विजयको सन्देश

137

राज्यलक्ष्मी शाक्य

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार प्रतिनिधिसभामा ६ जना महिला उम्मेदवारले विजय हासिल गरेका छन् । नेपालको संविधानमा नै महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । अझ दलहरूले नै आफनो हरेक संगठनमा महिलालाई ३३ प्रतिशतको व्यवस्था गर्ने प्रतिबद्धता नै गरेका छन् । तर, हालै भएको निर्वाचनमा भने त्यो प्रतिबद्धता पालना गरेको पाइएन । निर्वाचनमा केही संख्यामा महिला उम्मेदवारलाई राजनीतिक दलहरूले उठाए पनि उनीहरूको संख्या ३३ प्रतिशत थिएन । त्यसकारण निर्वाचनमा विजय हासिल गर्ने महिलाहरूको संख्या पनि उल्लेख्य रहेन । प्रत्यक्षतर्फको १६५ सदस्यीय हुने संघीय संसद्मा महिलाको संख्या भने मात्र ६ जना भएको छ । यद्यपि, समानुपातिकतर्फबाट छानिने महिलाहरूको संख्या केही हुन सक्छ, तर त्यो पर्याप्त भने हुनेछैन ।
दोस्रो संविधानसभाको चुनावमा महिला उम्मेदवारहरूको संख्या धेरै भएका कारण नेपालको संविधानसभा महिलामैत्री देखिएको थियो । दलहरूले पनि महिलामैत्री भएर चुनावमा उठाउने, समानुपातिकतर्फ महिलालाई अवसर दिएका थिए । त्यसैकारणले नेपालको संविधानसभामा महिलाको उपस्थिति प्रतिशत दक्षिण एशियालगायत विश्वका धेरै देशभन्दा अगाडि थियो । यसले नेपालको राजनीति महिलामैत्री बन्दै गएको आभाष मिलेको थियो । विश्वका अन्य देशहरूले पनि नेपालको यो पक्षलाई खुलेर प्रशंसा गरेका थिए । विकसित भनिएका देशहरूमा पनि महिलाले राजनीतिमा उचित स्पेश नपाइरहेको अवस्थामा नेपालको तत्कालीन महिलामैत्री संसद् विश्वका लागि नै उदाहरणीय बनेको थियो । अर्को सुखद पक्ष के थियो भने त्यो बेला नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशजस्ता राज्यका उच्चतम पदहरूमा महिला नै आसीन थिए । त्यसले पनि नेपालमा महिलाको पक्षमा केही जनचेतना जागेको महसुस गरिएको थियो ।
तर, वर्तमान समय भने पूरै एक सय ८० डिग्रीमा घुमेको आभाष भएको छ । अहिले देशमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । तर, त्यसपछि नेपालको राजनीतिमा हस्तक्षेप गर्नसक्ने महिलाको संख्या अत्यन्त न्यून देखिएको छ । विगतमा महिलालाई ठूलो अवसर दिएका नेपाली राजनीतिक दलहरू अहिले उनीहरूप्रति अनुदार देखिएका छन् । राजनीतिक दलहरूले निर्वाचनमा महिलालाई अवसर कम दिँदा निर्वाचित हुने महिलाको समस्यामा कमी आएको हो ।
कुनै पनि वर्गको समस्या त्यो वर्गका व्यक्तिहरूले नै उठाउन सक्छन्, समाधान पनि गर्न सक्छन् । नेपाली महिलाहरूको प्रतिनिधित्व गर्ने नेत्री महिलाहरूको संख्यामा कमी आउनेबित्तिकै आगामी दिनमा महिलाका हकहितका सवालमा राज्य अनुदार बन्ने हो कि भन्ने आशंका जन्माएको छ । राजनीतिले हरेक क्षेत्रमा छोएको हुन्छ । हरेक क्षेत्रमा राजनीतिको प्रभाव हुन्छ । राज्यले अंगीकार नगरेको क्षेत्रमा विकासको सम्भावना अत्यन्त न्यून हुन्छ । नेपाली महिला वर्गको उत्थानमा महिला राजनीतिकर्मीको ठूलो हात हुनसक्छ । तर, महिलाले नै अवसर पाउँदैनन् भने उनीहरूको आवाज त्यसै हराएर जान सक्छ ।
हालै मात्र महिला हिंसाविरुद्धको १६ दिने अभियान सकिएको छ । यसै सन्दर्भमा सार्वजनिक भएका प्रतिवेदनअनुसार नेपालमा महिला हिंसाको संख्या बढ्दै छ । महिलाहरूमा आएको चेतनाले पनि उनीहरूले आफूमाथि भएको हिंसालाई केही मात्रामा खोल्न थालेका छन् । कानुनको शरणमा पर्न थालेका छन् । यो पछिल्लो समय देखिएको सकारात्मक पक्ष हो । महिला हिंसाको घटना यसरी उजागर हुनसके र दोषीलाई कारबाही हुनसके मात्र महिला हिंसाको घटनामा कमी आउने सक्ने एउटा पाटो छ । त्यसका लागि सबैलाई असर पार्ने राजनीतिमा महिला उपस्थिति नि बढी हुनुपर्छ । जब राजनीतिक दलहरूले नै महिलाहरूलाई विभेद गर्न थाल्छ, तब अन्य क्षेत्रबाट महिलाले न्याय पाउँछन् भनेर सम्झिनु मूर्खतासिवाय अरु हुँदैन ।
राजनीति दलहरू नै हुन् सरकारमा जाने, नीतिनियम बनाउने । यदि उनीहरू अहिले नै महिलाप्रति यतिसम्म अनुदार छन् भने भोलि महिलाका सवालमा गम्भीर भएर लाग्लान् भनेर कसरी अपेक्षा गर्न सकिन्छ । यो निर्वाचनमा पनि महिलाहरूले आफूहरूले खर्च गर्न नसक्ने, पुरुष समान खट्न नसक्ने, चुनाव जित्न मनी र मसल चाहिले जस्ता आरोप लगाएर टिकट नदिएको बताएका छन् । जब कि केही महिला उम्मेदवार यी सबै आरोपलाई असत्य साबित गराएर पुरुषविरुद्ध नै जीत हासिल गर्न सफल भएका छन् । यसले पनि महिलाहरू कमजोर हुन्छन् भनेर गरिने टिप्पणीलाई झूठो साबित गरिदिएको छ । कञ्चनपुरबाट सांसद बन्न सफल नेकपा माओवादीकी नेत्री विना मगर भन्छिन्, ‘महिलालाई उम्मेदवार नै बनाउँदैनन् पार्टीहरूले । कति थोरै महिलाहरू प्रत्यक्षमा उम्मेदवार छन् । उम्मेदवारको टिकट दिए नै भने पनि हार्ने ठाउँमा दिन्छन् । यो महिला हो यसले के गर्न सक्छ र भन्ने सोच हाम्रो राजनीतिक वृत्तमा छ । हाम्रो राजनीतिको त्यही पुरूषप्रधान मानसिकतालाई मैले पराजित गरेँ भन्ने चाँहि महसुस भएको छ । एउटा पुरुषलाई नै हराएँ भनेर चै खास त्यस्तो केही लागेन मलाई । विपक्षी हो लड्न आएपछि चाहे महिला होस् चाहे पुरुष जित्नेले हराउनै पर्छ ।’
केही महिलाले निर्वाचनमा जितेसँगै अब उनीहरूले अर्का लडाइँ लड्नुपर्ने भएको छ । उनीहरूले पार्टी तथा संसद्मा गएर पनि महिलाको पक्षमा आवाज मुखरित गर्नुपर्ने भएको छ । महिलालाई अहिले गरिएको विभेदलाई अबका निर्वाचनमा दोहोरिन नदिन महिला सांसदको भूमिका अहं रहनेछ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here