विप्लव
नेपालीको स्वाभिमान निकै कमजोर बन्दै गएको छ । यसमाथि दिनप्रतिदिन हमला भइरहेको छ । यसरी हाम्रो स्वाभिमानमाथि लज्जास्पद चुनौती आइलाग्दा देशका युवा विद्यार्थीसँग नेपाली स्वाभिमानबारे छलफल गर्न मन लागिरहेको छ ।
हाम्रो स्वाभिमान कसरी उँचो हुन्छ ?
‘कमरेड, गाउँ त चैत्रमा फुङ्ग उडेको वन जस्तो भएछ, युवाहरू प्रायः छँदै छैनन्, बुढाबुढी, महिला र बच्चाहरू मात्र भेटिन्छन् ।’ कता गए ती युवाहरू !? ‘सबै विदेशतिर पलायन भइरहेका छन् ।’
‘देशमा दक्ष प्राविधिज्ञहरू (इन्जिनियर, डाक्टर, कृषिविद् आदि) पाइनै छोडे । विदेशीलाई लिनुपर्छ केही काम गर्दा पनि ।’
कहाँ गए प्राविधिज्ञहरू ? ‘सबै विदेशतिर पलायन भएका छन् ।’ ‘कमरेड, यो वर्षदेखि त देशका राम्रा, बलिया, हृष्टपुष्ट युवतीहरू विदेशतिर लाग्दै छन् ।’ केमा जाँदै छन् युवतीहरू, विदेशी सेनामा भर्ती हुन र मालिकहरूको कोठीमा काम गर्न ।
‘अलिकति धन भएका र बुद्धि आर्जन गरेका मान्छेहरू पनि अवसरको खोजीमा बाहिर जाँदै छन् । राम्रा खेलाडी र कलाकार पनि ।’ फरक–फरक क्षेत्रका फरक–फरक साथीहरूसँग भेट हुँदा सुनाइएका र सुनेका शब्द अनि वाक्यहरू हुन् यी । यी शब्द सामान्य खालका मान्छेले सुनाएका पनि होइनन्, विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका साथीहरूले सुनाएका हुन् । यी शब्द हाम्रा पार्टीका कमरेडहरूले मात्र पनि सुनाएका होइनन्, विभिन्न संघसंस्थामा कार्यरत साथीहरूले सुनाएका हुन् । यसो त युवा विद्यार्थीहरूले पनि कैयौं अनुभूतिहरू सुनाउनुभएको छ ।
देशको स्वाभिमानसँग जोडिएका यी शब्दहरू कम तिखा र पीडादायी छैनन् । यी शब्दहरूले छातीभित्र कुना–कुनामा नराम्रोसँग घोचेको अनुभूति हुन्छ । एउटा असह्य दुखाई महसुस हुन्छ । देशमा युवा छैनन्, देशमा विशेषज्ञ छैनन्, प्राविधिज्ञ छैनन्, राम्रा खेलाडी र कलाकार छैनन्, युवतीहरू छैनन् । साराका सारा विदेश पलायन भएका छन्, पलायन गराइएका छन् । विदेशीका सुसारे र रखैल बनाइएका छन् । अनि देश कसरी बन्छ ? कसले बनाइदिन्छ ? कसरी देशको उन्नति र विकास हुन्छ ? अगुवा खालका क्षमता प्रतिभाहरू अरुको स्याहारसम्भार गर्न हिँडेपछि आफ्नो घर, हाम्रो देश गरिब त हुने नै भयो, थिचिने भयो र धराशायी त हुने नै भयो । यो साँच्चै नै दुःखदायी र गम्भीर चिन्ताको विषय होइन र ?
जब हामीले शान्त दिमागले सोच्छौं हाम्रा युवा–युवतीहरू, विशेषज्ञहरू र प्राविधिज्ञहरू, हरेक क्षेत्रका प्रतिभाहरू हाम्रो देश छोडेर आफ्नो स्वाभिमान नै भुलेर किन र के कारणले विदेशतिर ओइरिरहेका छन् ? किन उनीहरूलाई लाज सरम केही छैन, विदेशीहरूको गुलाम बन्न र भौंतारिन् ? अनि हाम्रो अगाडि हाम्रो देशको राज्यसत्ता, हाम्रो आर्थिक अवस्था र हामीबीचको संस्कारको खराबी नाङ्गै उभिन आइपुग्छ ।
हाम्रो देशको राज्यव्यवस्था दृष्टिविहीन, लक्ष्यहीन, इच्छाहीन र योजनाविहीन छ । उसले कहिल्यै वैज्ञानिक र वस्तुवादी दृष्टिकोण बनाउन सकेन देशको भविष्यप्रति । कहिल्यै बलियो इच्छाशक्ति र चहकिलो लक्ष्य निर्धारण गर्न सकेन । कहिल्यै युवायुवती र दक्ष जनशक्ति (विशेषज्ञ)हरूलाई आशातित भविष्यको मार्गचित्र दिनसकेन । देशका नागरिकहरूप्रति राज्य जति उत्तरदायी हुनुपर्दथ्यो, कहिल्यै हुनसकेन । केवल मुठ्ठीभर, चाकरीबाज, पिठ्यु, धूर्त र सुदखोरहरूकै वरिपरी घुम्यो राज्य । यसले युवायुवती र दक्ष जनशक्तिहरूको गतिशील आकांक्षा र फराकिलो वातावरणको चाहनालाई प्रभावित, केन्द्रित र परिचालित गर्नसकेन । उता चलाख विदेशी शासकहरूले यो उर्बर जनशक्तिका लागि बजार खोलिदिएर असीमित उत्पादन गर्न यो शक्तिलाई उपयोग गरे । यसरी हेर्दा देशीय शासकहरूको बहुलठ्ठीपन र विदेशी शक्तिहरूको धुत्र्याइँले गर्दा नेपाली क्षमता प्रतिभामा आफ्नो स्वाभिमान गुमेको पत्तै नपाई विदेशीहरूको गुलाम बन्न पुगेका छन् ।
राज्यसत्ता जहिले पनि पुरानै वर्गको हातमा रहन पुगेकोले देशको आर्थिक पक्ष पनि सधैं संकटपूर्ण रही आयो । जति संघर्ष गरे पनि सत्ताले वैज्ञानिक आर्थिक सम्बन्ध निर्माण गर्न सकेन । श्रमशक्तिको आधुनिक विकास दिन सकेन । थोरै दक्ष शक्तिलाई पनि अवसर दिलाउन सकेन । नागरिकहरूको आर्थिक जीवन सुधार हुनुको साटो कष्टकर बन्दै गयो । राष्ट्र«को धनमा दलाल पुँजीपति र नोकरशाहहरूको नियन्त्रण कायम भयो । जनता टाट पल्टिने स्थिति आउन खोज्यो । अर्थ उत्पादन र खर्चपर्चको लागि देशभित्र कुनै अवसर बन्ने स्थिति भएन । ठीक यही मौका छोपेर विदेशी शक्तिहरूले थोरै भए पनि यहाँको भन्दा बढी तलब दिएर हाम्रा युवायुवतीहरूलाई प्रभावित पारेका छन् र हाम्रा युवा पनि त्यसैमा बल्झिन बाध्य भएका छन् ।
उल्लिखित राजनीतिक र आर्थिक समस्याको चपेटामा परेर हाम्रो विचित्रको संस्कृति हुर्किंदै छ । दलाली, चाकरी र परमुखी संस्कृति (जो संस्कृति नेपाली होइन र बनाउनु पनि कदापि हुँदैन) देशमा बढ्दै गएको यो संस्कार हेर्दा गाउँमा देखिने एउटा संस्कारको याद आउँछ । गाउँमा केही यस्ता मान्छे हुन्छन्, जोसँग बलियो र प्रभावी श्रमशक्ति हुन्छ, प्रशस्त मेहनत पनि गर्नसकेको हुन्छ । तर उसले सधैं मरिमरि हुनेखाने साहू ठालूको घरमा काम गरिरहेको हुन्छ, थोरै मीठो खान र १/२ जोर कपडा पाउने लोभमा साहू मुखियाकै घरमा हराउँदछ । उसको घर थोत्रिन्छ, भत्किन्छ, बालबच्चा भोकभोकै हुन्छन्, तर मतलबै हुँदैन । अर्काको घरमा काम गर्न बानी परेपछि आफ्नो विध्वंंश हुँदा पनि वास्ता छैन । त्यस्ता मान्छेको घर वास्तवमै विघटन हुन्छ । यो एउटा संस्कार बन्छ । हाम्रो देशमा पनि यस्तै भएको छ । अरु देशमा जाँदा–जाँदा, अरुको चाकरी गर्दा–गर्दा, अर्काले दिएको खाना, नाना, आदेश मान्दा संस्कार नै अर्दली संस्कार बन्न खोज्दै छ ।
हाम्रा युवाले विदेशमा जति दुःख गर्दछन्, जति पसिना पोख्दछन् त्यति गर्ने हो भने हाम्रो देश कति माथि उठ्नसक्छ, कति समृद्ध हुन्थ्यो होला । युवाहरू कलेज पढेका छन्, हृष्टपुष्ट छन् विदेशीको जस्तोसुकै काम गर्न पनि तयार छन् । त्यहाँ खन्ने खेत यहीं खने पनि त हुन्छ, त्यहाँ खन्ने बारी यहीं खने पनि त हुन्छ, त्यहाँ पोख्ने पसिना यहीं पोखे हुन्छ । केही समय दुःख पाइएला तर आफ्नो देश त बन्छ, आफ्नो सन्ततिको लागि पनि त राम्रो हुन्थ्यो । अहँ यस्तो कहिल्यै सोचेनन् । शासकहरूले युवाको संघर्ष र मेहनतमा आफ्नो भविष्य अन्धकार देखे, बरु युवा शक्तिलाई पनि बेचेर, यसले पनि नपुगेर देशबाट जे बेच्न सकिन्छ बेच्नतिर उद्धत छन् । यो संस्कृति वास्तवमा दलाली, चाकरी र परनिर्भर संस्कृति नै हो । हाम्रा युवाले यसलाई बुझ्नै पर्दछ ।
हाम्रो देशको अदूरदर्शी, विलासी र लक्ष्यविहीन नेतृत्व, आर्थिक संकट, गरिबी र बढ्दै गरेको दलालीपूर्ण संस्कृतिबाट फाइदा उठाउँदै साम्राज्यवाद र विस्तारवाद टाउकामा टेक्न आइपुगेका छन् । साम्राज्यवादी र विस्तारवादीले हाम्रो देशको विशाल प्राकृतिक साधनस्रोतहरू बुझेका छन् । यहाँको पानी, यहाँको जडीबुटी, इमान्दार श्रमशक्ति सबै बुझेका छन् । संसार लुटेका अनुभवी यी तत्वहरूले हाम्रो देशको सम्पदा पनि कुम्लो पारेर लाने षड्यन्त्रमा तल्लीन छन् । भारतीय विस्तारवादले त आफ्ना दलालहरूमार्फत असमान सन्धि लादेर हाम्रो देशको थुप्रै सम्पदा कब्जा गरिसकेको छ र बाँकी पनि कब्जा गर्न चाहिरहेको छ । साम्राज्यवादी विस्तारवादीले हामीलाई औंलो दिन्छन् र आफूले डुडुँलो नै निलिरहेका छन्, हाम्रो स्वाभिमानको अतिक्रमण यसरी बाहिरबाट पनि भइरहेको छ ।
उसो भए देशको स्वाभिमान उँचो राख्ने र नेपालको छुट्टै पहिचान दिनसक्ने उपाय के हो त ? माथिको यथार्थ र विश्लेषणबाट निष्कर्ष निकाल्न सकिन्छ कि सिङ्गो राष्ट्रले मुख्यतः युवा विद्यार्थीहरूले चार कुरामा ध्यान दिनै पर्दछ ।
पहिलो हो– सही नेतृत्वको निर्माण र रक्षा । राष्ट्र र जनताको भविष्य निर्माणसँग नेतृत्वको भूमिका निकै महत्वपूर्ण हुन्छ । जुन नेतृत्वमा राष्ट्रप्रति आगाध माया छैन र जनतामा विश्वास छैन, त्यस नेतृत्वले राष्ट्रिय स्वाभिमान बचाउन सक्दैन । स्वाभिमान नभएको नेतृत्वले देशीविदेशी लुटेराको अतिक्रमण, हस्तक्षेप र उत्पीडनलाई सामना गर्ने आँट गर्दैन । स्वाभिमान नभएको दलाली नेतृत्वले देशलाई अग्रगमन दिन पनि सक्दैन र जनताको विश्वास जित्न पनि सक्दैन । सही नेतृत्वको अभावमा देशका ऊर्जाशील जनशक्तिहरूलाई उत्प्रेरित र सदुपयोग गर्न पनि सम्भव छैन । तसर्थ सही नेतृत्व, जनताको नेतृत्व, क्रान्तिकारी नेतृत्व धेरै महत्वपूर्ण छ ।
दोस्रो हो– स्वाभिमानी संस्कृतिको संरक्षण र विकास । नेपालको पहिचान भनेको वास्तवमा स्वाभिमान नै हो । विशाल भारत गुम्दा पनि नेपालीहरूले देश गुम्न दिएनन् । प्रतिरोध युद्धद्वारा नै यो सम्भव भएको निकै हदसम्म सत्य हो । तर जब देशका शासकहरूले सम्झौतावादको बाटो पकडे, त्यसपछि विस्तारै दलाली संस्कृति शुरु भयो र कांग्रेसको समयमा पुग्दा र एमालेमा पुग्दा त यो लाजै लाग्दोगरी नाङ्गिएको छ । हामीले यो चाकरी, दलाली, गुलामी संस्कृतिलाई ध्वंस गर्नैपर्दछ । किनकि स्वाभिमानी संस्कृति नभएका युवायुवती र जनताले निरीह जीवन मात्र बाँच्ने मौका पाउँदछन्, उनको भविष्य कहिल्यै पनि उज्यालो बन्न सक्दैन । स्वाभिमान नहुने हो भने युवायुवतीहरू वास्तवमा मणि हराएका नाग जस्ता हुनपुग्दछन् ।
यदि हामीले स्वाभिमान बचाउने हो र आत्मविश्वास भएका युवायुवती बनाउने हो भने विदेशीले दिएको पैसा खाना होइन आफ्नै पौरखमा बाँच्ने आँट गर्नैपर्दछ । अरुको देशमा चाकरी, गुलामी र सुुसारे भएर होइन भोकै मर्नुपरे पनि देशकै माटोमा श्रम खर्चेर मर्न तयार हुनुपर्दंछ । विदेशीहरूको हेपाइ, मिचाइ र हस्तक्षेपलाई हृदयदेखि घृणा गर्दै स्वाभिमानको जीवन जिउन तयार हुनैपर्दछ । यतिमात्र गर्न हामी तयार भयौं भने देशको अनुहार फेर्न केही पनि कठिनाइ हुनेछैन र राष्ट्रिय स्वाभिमान उँचो बनाउन सकिनेछ ।
तेस्रो हो– विदेशी हस्तक्षेपको प्रतिरोध र राष्ट्रिय अर्थतन्त्रको निर्माण र विकास । नेपाली जनता र हाम्रो राष्ट्रको इच्छाविपरीत, सहमतिविपरीत र झेली तरिकाले गर्ने विदेशी हस्तक्षेप वास्तवमै विशालु छ । साम्राज्यवादी र विस्तारवादीहरूले जतिसुकै संयोगको डंका पिटे पनि, मित्रताको नाटक रचे पनि उनीहरूको हस्तक्षेपले नेपाललाई थिच्ने र लुट्ने कार्य मात्र गरेको छ, नेपाल र नेपाली जनतालाई अपहेलित मात्र गरेको छ ।
यसर्थमा राष्ट्रिय हितविपरीत हुने राजनीतिक, आर्थिक र साँस्कृतिक सबै हस्तक्षेपलाई प्रतिरोध गर्नैपर्दछ । त्यस्तै प्रकारले नेपालका युवायुवतीहरू र दक्ष प्राविधिज्ञहरूले आफ्नै देशको राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने अठोट गर्नैपर्दछ ।
हाम्रा अनगिन्ती संभावनाहरूलाई दुःख कष्ट सहेर भए पनि राष्ट्रको निम्ति उपयोगमा ल्याउने आफ्नै देश बनाउने आकांक्षा राख्नैपर्दछ । दल, गुट र जातिका साँघुरा घेरा नाघेर बृहत् राष्ट्रिय हितलाई साझा उद्देश्य बनाइयो भने सफलता हात पार्ने कुरा कुनै ठूलो पनि होइन । यसर्थमा यसरी राष्ट्रिय स्वाभिमानलाई बनाउन सकिन्छ ।
(- जनधारणा साप्ताहिक)















