चन्द्रप्रकाश बानियाँ
नेपाल र भारत खुला सीमाव्यवस्थाले जोडिएका मुलुकहरू हुन् । दुवै देशका नागरिकहरूलाई आफूखुशी सीमापार आउजाउ गर्ने स्वतन्त्रता उपलब्ध छ । सालबसाली कति नागरिहरूले एक अर्काका मुलुकमा पाइला राख्छन् भनेर रेकर्ड राख्ने व्यवस्था पनि गरिएको छैन । स्वभावतः वाञ्छित अवाञ्छित उद्देश्यप्रेरित मानिसहरूको निर्बाध आवागमन भइरहन्छ । एक अर्को देशमा आउजाउ गर्न निम्तोपत्र वा अनुमतिपत्रको आवश्यकता पर्दैन । अस्ति भर्खर हाम्रा प्रधानमन्त्री उता गए । देशको कार्यकारीका हैसियतले उता गएका हुनाले उताको औपचारिक निम्तो अवश्य प्राप्त भएको हुँदो हो । विनानिम्तो अस्ति भर्खर पाकिस्तानी प्रधानमन्त्री नेपाल भित्रिएका थिए । चाहेका भए नेपालका प्रधानमन्त्री पनि त्यसरी नै भारत भ्रमणमा जान सक्थे । हामीकहाँ विचित्र परम्परा रहेको छ । आफैले निम्तो मागेरै भए पनि हाम्रा प्रधानमन्त्रीहरूले भारतको भ्रमण गर्न रुचाउँछन् । सत्तारुढ हुनासाथ काम होस् वा नहोस् भारत जानै पर्ने परम्परा बसेको छ । यसपटक पनि उताबाट पहल नभैदिएका भए उही मगन्ते प्रवृत्तिको पुनरावृत्ति अवश्य हुँदो हो ।
नेपालका प्रधानमन्त्री उता जानुभन्दा पहिले भारतीय सिनेजगत्का बडे हस्ती सलमान खान नेपाल आउने चर्चा थियो । त्यही बीचमा विकसित भएका केही घटनाक्रमहरूले उनको भ्रमण स्थगित हुन पुग्यो । निकट भविष्यमा उनको नेपालयात्रा अवश्य हुनेछ । र, निर्धक्क भन्न सकिने कुरा के हो भने सलमान खानको सम्भावित यात्राको नेपालीहरूले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । नेपालका प्रधानमन्त्रीको उताको यात्रा आम जनसाधारणका लागि चासो, जिज्ञासा र कौतुहलको विषय बन्दैन । आम सञ्चारमाध्यमहरूमा समेत त्यो यात्रा समाचार प्राथमिकताको विषय बनेन भन्ने गुनासो सुनिएको छ । अर्थात् जनस्तरबाट सलमान खानले जुनस्तरको स्वागत सत्कार पाउनेछन् हाम्रो प्रधानमन्त्रीले अवश्य पाएनन् । मोदी सरकारले उनको स्वागतमा कञ्जुस्याइँ नगरेकै भए पनि उनी आफैले नेपाल भ्रमणको अवसरमा पाएको आम नेपालीहरूको स्वागत, सत्कार, प्रेम, प्रशंसा र समर्थनको पैचो तिर्न भ्याएनन् भन्दा फरक नपर्ला !
शत्रुता र वैमनस्य दुई देशको सम्बन्धमा चिसोपन सिर्जना गर्ने मुख्य विषय हुन् । दुई वर्ष अगाडि नेपालले झेल्नु परेको नाकाबन्दी केवल वैमनस्यको परिणाम हो भन्न मिल्दैन । त्यो त शत्रुतापूर्ण कार्य थियो । नेपाल र भारतको नागरिकस्तरमा शत्रुता र कटूता उत्पन्न हुनुपर्ने कुनै कारण थिएन । विनाकारण त्यतिविघ्न तिक्त प्रतिक्रिया भारतीय पक्षबाट भयो होला भनेर पत्याउन पनि सकिँदैन । अवश्य राज्यस्तरमा उत्पन्न अविश्वास र मनमुटावको विशाल खाडल सिर्जना नभएसम्म त्यो स्तरको अन्यायपूर्ण र अमानवीय व्यवहारमा निकट छिमेकी देश उत्रियो होला भन्न सकिँदैन । सतहमा देखिएका तत्कालीन वैमनस्यका विषयहरूका अतिरिक्त अनेकौं भित्री कारणहरूले दुई देशको सम्बन्धलाई कटूतामा बदलेको हुनुपर्छ । यसपटक हाम्रा प्रधानमन्त्रीले आफूमा कूटनैतिक कौशलको अभाव रहेको कुरा भारतीय समकक्षीसमक्ष सार्वजनिक रूपमा स्वीकारेका छन् भन्ने कुरा खुलेको छ । त्यो स्वीकारोक्ति अप्रत्यक्षरूपमा आफ्नो पूवकर्मप्रतिको क्षमायाचना हो । आत्मस्वीकृतिको नाममा प्रदर्शन गरिएको ‘त्वं शरणम्’को भावाव्यक्ति हो । गल्तीको लागि कूटनीतिमा ‘कान समातेर उठ बस’ गरिँदैन । कूटनीतिक ढाँचामा अभिव्यक्त गरिन्छ । उसो त निकटवर्ती छिमेकीहरूसँगको चिसो सम्बन्धमा मोदीको कूटनीतिक क्षमता पनि प्रतिविम्बित भएकै छ, जसले उनलाई असफल र अनाडी सावित गरेकै छ । त्यसैले दुई जना अनाडी खेलाडीहरूको कूटनीतिक अक्षमताको परिणाम तत्कालीन नाकाबन्दी रहेछ भन्ने पुष्टि भएको छ । यतिखेर दुवै जनाले आ–आफ्ना ठाउँबाट आ–आफ्नै शैलीमा गल्तीको आत्मस्वीकृति गरिसकेका छन् ।
भारत भ्रमणबाट फर्केपछि नेपालका प्रधानमन्त्रीले १६ बुँदे विज्ञप्ति (वक्तव्य) सार्वजनिक गरेका छन् । त्यसको अन्तिम बुँदाले दाबी गरेका कुराहरू पत्याउन भने गाह्रो पर्छ । दाबी गरिएजस्तै दुई देशबीचको आपसी विश्वासमा अभिवृद्धि भएकै हो भनेर पत्याउने आधार के हो ? उनै पुराना मानिसहरूका बीच भएको भलाकुसारीले अघिल्लोपटक सकारात्मक परिणाम नदिएको उदाहरण कसरी बिर्सन मिल्छ र ? सम्बन्ध मैत्रीपूर्ण होस वा शत्रुतापूर्ण नेपालका लागि भारत त्यस्तो गलगाँड हो जसलाई जति अप्ठेरो लागे पनि घाँटीमा भिरेर हिँड्न नेपाल अभिशप्त छ । क्रूरतापूर्ण, बर्बर र अमानवीय नाकाबन्दी नेपालले पटकपटक व्यहोर्दै आएको छ र यसपटकको भ्रमणले त्यस्तो सम्भवनालाई सदाका लागि समाप्त पा¥यो भनेर पत्याउन सकिँदैन । आपसी हित, सम्मान र समानताको आधारमा दुई देशको सम्बन्धलाई उचाइमा पु¥याउन प्रमको भ्रमण सहयोगी सिद्ध भयो होला भन्न पनि गाह्रो छ । जहाँसम्म सहयोग विस्तारको कुरा हो हाम्रो कूटनीतिक चातुर्यका कारणले होइन, चीनको बढ्दो सहयोग र कूटनीतिक चलखेलको कारणले चीनतिर लहसिँदै जानसक्ने नेपाली मनोविज्ञान कारकतत्व बन्ने छ । चिनियाँ कम्पनीहरू पश्चिम सेती र बुढीगण्डकी आयोजनाबाट पछि फर्कनुपर्ने परिस्थितिको निर्माण भारतीय लगानीमा सम्पन्न हुने अपेक्षा गरिएका पञ्चेश्वर, कर्णाली र अरुण–३ जस्ता ठूला जलविद्युत् आयोजनाहरू विलम्बित हुने कुराको प्रत्याभूति बन्ने छैन भन्न सकिँदैन । दुवै छिमेकीहरूले प्रतिस्पर्धात्मक मनोविज्ञानबाट काम गर्दा सधैं भारतीय पक्ष पछि लतारिँदै आएको यथार्थका अनेकौं उदाहरणहरू छन् । त्यसमाथि अर्को एउटा पक्ष मैदानबाट हटेपछि कामको गति कस्तो रहला ? यसपटकको प्रधानमन्त्रीको भ्रमणले मुलुकलाई भारतीय सहयोग विस्तारको नाममा त्यही दुर्भाग्यपूर्ण नियतितिर डोराउँदैन भनेर कसरी विश्वास गर्न सकिन्छ र ?
होला, प्रधानमन्त्रीले दावा गरेजस्तै भारतसँगको सम्बन्धमा सुधार आयो होला, हार्दिकता बढ्यो होला तर नाकाबन्दीपूर्वको स्थितिभन्दा राम्रो भैहाल्यो भन्न भने सकिँदैन । हाम्रो अपेक्षा र आवश्यकताले दुई पक्षीय सम्बन्धलाई पूर्वस्थितिमा फर्काउनु मात्र पर्याप्त हुन्छ भन्न मिल्दैन । त्यो ठूलो पुरुषार्थ हुँदै होइन । आफैले बिगारेको सम्बन्ध ठूलो हानिनोक्सानीपछि आफैले सुधार गर्नुलाई ठूलो काम भन्न पनि मिल्दैन । भारतसँगको सम्बन्धलाई कटूतापूर्ण बनाउने मूर्खता गरेको कसले थियोे ? त्यो त खाल्डो खन्ने र त्यसैलाई पुर्र्ने अभियानभन्दा फरक कसरी भयो र ? बिग्रेको सम्बन्धलाई पुनः लिकमा फर्काउनमा सफलता मिलेकै हो भने पनि यस बीचमा मुलुकले व्यहोरेको आर्थिक क्षतिको भर्पाई हुने छैन । त्यसको जिम्मेवारी कसले लिने ? एकोहोरो भारतलाई धारेहात लगाएर आर्जन गरेको लोकप्रियताबाट टोक्न चपाउन मिल्ने कुन कुरा मुलुकले पायो ? त्यो त केवल आफ्नो कूटनीतिक असफलता लुकाउने साधन मात्र बन्यो । देशको आर्थिक मर्म नबुझने घामटपन ठहरियो । देशलाई संकटमा फसाउने नादानी मात्र ठहरियो । घोर अकर्मण्यता र असफलता ढाकछोप गर्ने थोत्रो र भद्दा गाउनलाई राष्ट्रियताको सम्वद्र्धन, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षाको चेष्टाको नाम दिइएको मात्र ठहरेन र ?
(- जनधारणा साप्ताहिक)
















