राज्यलक्ष्मी शाक्य
नेपालमा विकास गर्ने क्षमता हुँदाहुँदै पनि विकास गर्नै नचाहने संयन्त्रका कारण जनताले दुःख पाउँदै आएका छन् । हरेक क्षेत्रमा हुने ढिलासुस्तीमा निश्चित वर्गले लाभ पाइरहने हुनाले विकास निर्माणका काम अवरुद्धप्रायः छन्, कुनै कुनैको काम भइहाले पनि झाराटराइ मात्र हुने गर्दछ । यसको लागि कुनै सडकको कुरा गरौं न । कुनै क्षेत्रको सडक बनाउनुप¥यो भने त्यो सडकमा स्तरीय काम हुँदैन, जसले गर्दा कालोपत्र गरेको केहीमा समयमा सडकमा ठूलो खाल्डाहरू पर्ने गरेका छन् । त्यस्ता खाल्डाहरू अलि धेरै नभएसम्म पुर्ने काम हुँदैन । यसो नगर्नुमा पुनः मर्मत भनेर ठूलो बजेट छुट्याउने र त्यसबाट कमिशन लिने स्वार्थ हावी रहेको हुन्छ ।
सरकारी निकायबाट नै तदारुकता नदेखाउँदा जनताले अत्यावश्यकीय सेवा पाउने बडो कष्टले मात्र पाउनेछ गरेका छ । त्यसको उदाहरणको रूपमा हालैमात्र सरकारले गरेको एउटा कामलाई लिन सकिन्छ । नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंको जोरपाटीनजिकै रहेको हयात होटलमा बास बस्ने भएपछि त्यस क्षेत्रको सडकमा रातारात कालोपत्र गरियो । जब कि केही वर्षयता सो सडकको दुरवस्थाका कारण स्थानीयले समस्या भोग्दै आएका थिए । पानी पर्दा हिलाम्ये र घाम लाग्दा बुङबुङ्ती धुलो उड्ने सो सडकमा कैयौं खाल्डाखुल्डी दिए । जसका कारण धेरै दुर्घटनाहरू भएका थिए । कष्टकर यात्रा गर्नु त छँदै छ । उक्त सडक बनाउनका लागि स्थानीयले सडकमा नै धान रोप्ने तथा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउने काम गरे । तर, त्यति गर्दा पनि कुनै पनि जिम्मेवार निकायको त्यसतर्फ ध्यान गएन । सडक तत्काल मर्मतसम्भार गर्न सरकारी निकायले कुनै चासो देखाएन ।
तर, हालै मात्र भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि त्यो सडकको केही खण्डमा कालोपत्र गरियो । यस्तो कालोपत्र मोदी बस्ने होटलसम्म मात्र गरिएको छ । यसले गर्दा जनतामा झनै आक्रोश पैदा गरेको छ । एक त स्थानीयको मागअनुसार निकै अघि गर्नुपर्ने सो सडकको कालोपत्र जनताका लागि भन्दा पनि कुनै विदेशी व्यक्ति आउँदा कालोपत्र गरिएको छ । अर्को कुरा चाबहिलदेखि जोरपाटीसम्मको बेहाल सडकको पूरै कालोपत्र नभई चुच्चेपाटीसम्म मात्र कालोपत्र गरिएको छ भने अन्य स्थानको कालोपत्र गर्ने सुरसार देखिएको छैन । सडकको दुवैतर्फ ढलको अवस्थासमेत नहेरी कालोपत्रे हालिएको छ ।
यो अवस्था मुलुकको राजधानी काठमाडौंको हो । मुलुकको राजधानी भए पनि काठमाडौंको दैनिकी निकै कष्टकर हुँदै गएको छ । मानिसले राज्यलाई तिरेको शुल्क र राजस्वअनुसारको जुन सुविधा पाउनुपर्ने हो त्यो कदापि पाउन सकिएको छैन । उल्टै धूलोधूँवा, दुर्गन्ध र अव्यवस्थित वातावरणका कारण यहाँ सर्वसाधारणलाई जीवनयापन गर्न कठिनाइ बढ्दै गएको छ । एउटा महानगरमा हुनुपर्ने विशेषता तथा सेवासुविधा यहाँ पाउन सकिँदैन । सडक, पानी, बत्ती, ढल, फोहोर व्यवस्थापन आदिमा सरकारी निकायबाट जुन सुविधान पाउनुपर्ने हो त्यो पाउन सकिएको छैन । राजधानी काठमाडौंकै यस्तो अवस्था छ भने अन्य स्थानमा विकास निर्माण सन्तोषजनक भएको छ भनेर अपेक्षा मूर्खतासिवाय केही हुँदैन ।
आखिर किन सरकारी निकायले आफूले गर्नुपर्ने काम इमानदारपूर्वक सम्पन्न गर्न सकिरहेका छैनन् त ? यसको उत्तर विकास गर्न नचाहने मनोवृत्ति नै हो भन्न सकिन्छ । किनभने चाबहिल–जोरपाटी खण्डको कालोपत्र विगत केही वर्षयता हुनु नसक्नुमा सम्बन्धित सडक डिभिजन कार्यालयको लापरबाहीले गर्दा हो । जनतालाई जे गर्दा पनि हुन्छ, विकास निर्माणमा किन हतार गर्नु भन्ने मनोवृत्ति नै त्यो क्षेत्रको कालोपत्र नहुनुको प्रमुख कारण हो । अनि यो मनोवृत्ति अन्य सरकारी निकायमा नै उत्तिकै रहेको छ । हामी सरकार कर्मचारी भनेको राष्ट्र निर्माणका खम्बा हौं, हामीले इमानदारीपूर्वक समयमा नै छिटोछरितो र सहज रूपमा जनतालाई सेवा दिनुपर्छ भन्ने मनोभावना राष्ट्रसेवक भनिने कर्मचारीहरूमा पाइँदैन । सबै कर्मचारीहरू आफ्नो दायित्वबाट विमुख छन् भन्न खोजिएको होइन, कर्मचारीभित्रै पनि केही इमानदार, जिम्मेवार र निष्ठावान् कर्मचारीहरू छन्, जसले इमानदारीपूर्वक आफ्नो काम गरिरहेका छन्, देशका लागि योगदान दिइरहेका छन् । तर, ठूलो समयमा रहेका अकर्मण्य कर्मचारी, राजनीतिक दलका नेतृत्ववर्ग आदिका कारण समयमा नै हुनसक्ने कामहरू हुन सकेका छैनन् । [email protected]
(- जनधारणा साप्ताहिक)















