ओलीको राष्ट्रवाद कि लम्पसारवाद ?

312

हुकुमबहादुर सिंह

देशमा एउटा खतरनाक परिस्थिति जन्मँदै छ, त्यो भनेको ओलीले समाजवाद र विकासका नाममा नेपालमा राष्ट्रवादको खोलभित्रबाट भारतलाई बढ्ता फाइदा हुने खालका कामहरू गर्दै छन् । भर्खरै उनले भारतको भ्रमण गरे र मोदीलाई नेपालको भ्रमण गराएर अति सस्तोमा बन्ने र नेपाल स्वयम्ले बनाउनै पर्ने अरुण तेस्रो जलविद्युत् परियोजना भारतीय दलाल पुँजीपति वर्गलाई सुम्पने काम गर्दै छन् । ओली नेतृत्वको यो वामपन्थी गठबन्धनको सरकारले पनि अहिले समाजवाद, विकास, शान्ति, उन्नति, प्रगति, उग्रराष्ट्रवादको नाम लिएर राष्ट्रविरोधी काम गर्दै छ ।
यो भनेको उनको पहलमा गरिएको इतिहासकै एउटा अर्को कालो रात– महाकाली सन्धिलाई उही रूपमा कार्यान्वयन हो । उनलाई र आम नेपालीलाई पनि थाहा छ कि नेपाल र भारतका बीचमा भएका त्यस्ता अनगिन्ती असमान सन्धि सम्झौताहरू छन्, जसको सोही रूपमा कार्यान्वयन गर्न भारतले दबाब दिइरहेको छ । ओलीले यदि उनी सही मानेमा देशभक्त तथा नेपाली जनताप्रति बफादार भएको भए ती सबै असमान सन्धिसम्झौताहरूको सके खारेजी नसके कम्तीमा पनि दुई देशको समान हैसियतमा तिनीहरूको पुनरावलोकन गर्नेमा जोड दिनु नेपाल र नेपाली जनताको हितमा हुने थियो । निर्वाचनमा खासगरी भारतीय नाकाबन्दीका विरुद्धमा उनले लिएको अडानलाई क्यास गर्दै नेपाली जनताको अभिमत लिएपछि भने उनले अहिले राष्ट्रियता र देशभक्तिको खोललाई सजिलै च्यातचुत पार्न थालेका छन् । र, उनको अबको उही पुरानो उनले गर्ने गरेको भारतभक्तिलाई विरोध गर्नबाट रोक्ने अभिप्रायले माइतीघर मण्डलालगायत शान्तिवाटिका र काठमाडौं उपत्यकाभित्रको विरोध जुलुसहरूलाई निषेधाज्ञा लगाएर बन्देज गर्ने भनेको भारतभक्ति मूलतः उनले भारतलाई कौडीको मूल्यमा सुम्पन थालेको अरुण तेस्रो, कोशी उच्च डयामलगायत माथिल्लो कर्णाली आदि असमान सन्धिसम्झौताहरूको कार्यान्वयनमा सहजता ल्याउन हो ।

 
ओली आफूलाई कम्युनिष्ट त भन्छन् तर उनी र उनका अभिव्यक्तिहरूले उनमा सामाजिक फासिवाद सारमा दक्षिणपन्थी सर्वसत्तावादीतर्फ संकेत गरिरहेका छन् । उनी रूपमा समाजवादी, वामपन्थी बनेर उग्रराष्ट्रवादको नारा त दिएका छन् तर सारमा उनले कुलीनतन्त्रमा विश्वास गरेको देखिएको छ । उनका अभिव्यक्तिबाट के स्पष्ट हुन्छ भने उनी तर्क र बुद्धिमा विश्वास नगर्नेवाला, हिन्दूधर्मको कट्टर समर्थक, साम्राज्यवादमा खासगरी भारतीय विस्तारवादमा विश्वास गर्ने, नेपाली जनताको स्वतन्त्रतालाई उनीहरूको अधिकारमा नबुझ्ने, स्वीकार नगरी कर्तव्यका रूपमा मान्ने । आर्थिक क्षेत्रमा व्यक्तिवाद र समाजवादको बीचको मध्यममार्गलाई मान्यता दिने गर्दछन् । यी उल्लेखित विशेषताहरू पुँजीवादी अधिनायकत्वको सबैभन्दा प्रतिक्रियावादी, सबैभन्दा मानवता विरोधी, सबैभन्दा दमनकारी प्रत्यक्ष आतंककारी विचार हुन् । जनतालाई विकासका नाममा तथा उग्रराष्ट्रवादको नारा दिएर सधैं डर, त्रास र आतंकमा रहिरहने परिस्थितिको निर्माण गर्ने उनको चारित्रिक विशेषता भएको छ ।

 
ओली नेतृत्वको यो वामपन्थी गठबन्धनको सरकारले पनि अहिले समाजवाद, विकास, शान्ति, उन्नति, प्रगति, उग्रराष्ट्रवादको नाममा भारत भक्तिका केही विशेषताहरूतर्फ आकर्षित गर्ने खालका कामको सुरुवातको संकेत देखिन थालेको छ । नेपालका बुद्धिजीवीहरू जसले राष्ट्रियताको पक्षमा आफूलाई दह्रोसित उभ्याउन कोशिस गर्दै छन् । तिनीहरूलाई उनले घृणापूर्वक यस्तो अभिव्यक्ति अभिव्यक्ति दिएका छन्, ‘यहाँका बुद्धिजीवी भनाउँदाहरू मुसाले कपडा काटेर दाँत तिखो बनाएजसरी सरकारको विरोध गर्न कलम तिखारेर बसिरहेका छन् ।’

 
नेपाल–भारत सिमानाका कैयौं पिलरहरू ओली सरकारपछि पनि गायब गरिएका छन् वा नेपालको भूमि अतिक्रमण गरी सारिएका छन् । ओली यसबारे बेखवर देखिन्छन् । त्यसैगरी रातारात नेपालका अनेक भूभाग हडप्दै नेपालीका जग्गाजमिनलाई एक रातमा भारतभित्र घुसाउने काम ओली सरकारमा नै भइरहेका छन् । यही वैशाख २८ गतेदेखि गर्ने भनेको मोदीको भ्रमण र उक्त समयमा मोदीसित मिलेर उनले गर्न थालेको अरुण तेस्रोको शिलान्यासको सट्टा उनले खरोरूपमा यी समस्याहरूलाई उठाउन सक्नु पर्दथ्यो । उनी त त्यसका विरुद्ध उर्लने नेपालका बुद्धिजीवीहरू, क्रान्तिकारी कम्युनिस्टहरू, देशभक्त तथा राष्ट्रवादीहरूको विरोधका आवाजहरूलाई कमजोर र विशृंखलित बनाउने उद्देश्यले विभिन्न जनविरोधी कदम चालेका छन् । यसरी ओलीले विगतका सन्धिसम्झौताहरू, जो नेपालका लागि सबै असमान छन्, तिनको कार्यान्वयन गरेर नेपाललाई अर्को भूटान बनाउन उनले खोजेको स्पष्ट हुन्छ । ओलीको राष्ट्रवादको संकेत यही हो । उनको राष्ट्रवाद पनि विगतमा प्रचण्ड र माधव नेपालले पाएको पगरी–लम्पसारवाद नै हुने निश्चित छ । यसको सुरुवात यिनले अरुण तेस्रोको मोदीसित संयुक्त शिलान्यासबाट हुन थालेको छ ।  [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here