कम्युनिज्मको रसपान गर्ने नेपाली तिर्खा अधुरै रहने भो !

222

चन्द्रप्रकाश बानियाँ
चीन भ्रमणबाट फर्केपछि नयाँ सरकारका नवीकृत प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुवै छिमेकीहरूसँगको सम्बन्ध सुधारेको जानकारी सदनलाई दिएका छन् । चीन भ्रमणको अवसरमा चीनसँग भए गरिएका सम्झौताहरूको निकै लामो सूची प्रस्तुत गर्दैगर्दा प्रधानमन्त्रीको भावभङ्गिमा अर्थात् बडील्याङ्ग्वेज भने उति उत्साहजनक देखिएको थिएन । करीब हप्तादिनको यात्राबाट उत्पन्न थकानको कारण हो अथवा विकास निर्माण उन्नतिप्रगति भन्ने कुरा आफूले कल्पना गरेजस्तो चामत्कारिक नहुने रहेछ भन्ने तथ्यबोधले हो प्रधानमन्त्रीको प्रस्तुति अपेक्षाकृत उत्साहविहीनजस्तो देखिएको थियो । तीन महिनामै काठमाडौंका चुलामा ग्यासपाइप जडान गरिदिने, एक वर्षमै हावाबाट बिजुली निकालेर देशमा छेलोखेला बनाइदिने, दुई वर्षमै साउदी अरबियालाई नेपाली खनिजतेल बेच्ने जस्ता गफ हावादारी सावित भएकाले जिब्रो चलाउँदा संयमित हुनुपर्ने चेत पसेको पनि हुनसक्छ । भनेजस्तो गरिपु¥याउन सजिलो हुँदो रहेनछ भन्ने दिव्य ज्ञान प्राप्त भएपछिको शिथिलता पनि हुनसक्छ । अति उत्साहको परिणाम शीघ्र थकान हो भनिन्छ । नत्र भने चीनसँग भएका दुईपक्षीय सम्झौता समझदारीहरू उत्साहजनक छैनन् भन्न मिल्दैन । साँच्चै समयमै कार्यान्वयन भैदिने हो भने चीनबाट ठूलो सहयोग प्राप्त हुने सम्भावनाको ढोका खुलेको छ भन्नु अतिशयोक्ति हुँदैन होला ।

 

माके एमाले एकीकरणले एउटा बलियो पार्टी बनेको छ । संसद्मा एउटै पार्टीको एकमना बहुमत छ । एकल संसदीय बहुमत प्राप्त पार्टीको नाममा ‘कम्युनिष्ट’ जोडिएको छ । यतिखेर एकीकृत बनेको पार्टीको मुख्य घटक एमाले नामको मात्र कम्युष्टि थियो भन्ने कुरा ‘ओपन सिक्रेट’ हो । लक्ष, दृष्टिकोण, सिद्धान्त र व्यवहारका दृष्टिले धनविनाको ‘धनीराम’ मात्र थियो । त्यही धनीराममा अर्को पार्टी मिसिएपछि ‘बलराम’ बनेको हो । ‘जुत्ताको नापअनुसार खुट्टा काटेर मिलाउने हो भने आऊ, नभए तिम्रो बाटो लाग’ भनेर माकेलाई एमालेले सार्वजनिक रूपमै चेताएकै हो । उसैको शर्तमा माके एमाले एकीकरण भएको हो । त्यसैले एकीकृत पार्टी भविष्यमा कस्तो होला भनेर अनुमान गरिरहनुपर्ने आवश्यकता छैन । माके एमाले एकीकरणको उद्देश्य एमाले पार्टीलाई ठूलो बनाउने मात्रै होइन उसैको सिद्धान्त, व्यवहार र नीतिसंस्कृतिलाई पनि निरिन्तरता दिने उपक्रम थियो, हो । नयाँ पार्टी बनेपछि कम्युनिष्टहरू ‘बलिया भए’ भनेर काँग्रेस र काँग्रेस सम्बद्ध बुद्धिजीवीहरूले गर्ने गरेको रोइलोमा रत्तिभर सत्यता छैन । पार्टी एकीकरणबाट कम्युष्टिहरू बलिया भएका होइनन्, एमाले बलियो भएको हो । एमालेको विचार र नीति बलियो बनेको हो । एमाले भनेको राजनीतिक अर्थशास्त्रका दृष्टिले काँग्रेसकै जुम्ल्याहा भाइ हो । त्यसैले काँग्रेस र काँग्रेसीहरूको गुनासो व्यर्थ हो । अब भविष्यमा हुने काँग्रेस र नेकपाबीचको प्रतिद्वन्द्विता र प्रतिपस्र्धा दुई भिन्न दर्शन, सिद्धान्तबीचको होइन । त्यो प्रतिस्पर्धा केवल सत्ताको लागि हुनेछ । उद्देश्य र कार्यक्रममा समानता भएपछि पार्टी फरक हुनुले के अर्थ राख्छ र ? बस, हुने कुरा भनेको ‘कहिले दाइको पालो कहिले भाइको पालो’ भनेजस्तो मात्र हो ।

 

हो, नेपालमा बुझेर हो वा नबुझैरै हो अथवा काँग्रेसप्रतिको वितृष्णाको कारणले हो नेपाली जनमत कम्युनिष्ट पार्टीहरूप्रति अनुरक्त रहँदै आएको छ । कम्युनिष्ट पार्टीको नीति सिद्धान्त बुमmेरै समर्थन गरिएको हो भनेर दाबी गर्न तथ्यहरूले दिँदैनन् । कम्युनिष्ट सिद्धान्तले समाजमा आधारभूत परिवर्तनको माग गर्दछ । हाम्रो समाज ‘बाहुनवाद’बाट ग्रसित छ । समाजको प्रगतिशील रूपान्तरणका लागि पहिलो अवरोध त्यही हो । त्यो अन्ध परम्पराप्रतिको अन्धआस्था, अन्धभक्ति र प्रेम वा अपनत्वभाव सबभन्दा बढी खस समाजमा देखिन्छ । राजनीतिक विश्लेषक सिके लालले भनेजस्तै एमाले ‘पहाडी ब्राह्मण वर्चस्वको पार्टी’ बनेको कुरा तीतो यथार्थ हो । माकेको एमालेमा भएको विलयले त्यसलाई थप मलजल गरेको छ । अर्को यथार्थ के पनि हो भने जनमतले त्यही पार्टीलाई लोकप्रिय सावित गरिदिएको छ । नयाँ नेकपा समाजको आधारभूत परिवर्तनको पक्षमा छैन र त्यही पार्टीलाई जनताले पत्याउनु भनेको कम्युनिष्ट दर्शन नबुझीकन गरिएको समर्थन होइन भन्न मिल्दैन ।

 

निकै ठूला सपनाहरू देखाएर नेकपाले संसदीय निर्वाचनमा बहुमत प्राप्त गरेको छ । गफ गरेजस्तै जनताको नजरमा पर्नेगरी अर्थात भुइँ तहका जनतालाई प्रत्यक्ष लाभ पुग्नेगरी कुनै काम हुनेछैन । गरिने छैनन् । सरकार वर्गसापेक्ष हुन्छ भन्ने माक्र्सवादी मान्यता पत्याउने हो भने एमालेको नेतृत्वले भुइँ छोडिसकेको छ । नेपालीहरूको पहिलो प्राथमिकताको प्रश्न जनजीविकाको हो । रोजगारीको हो । अन्तरदेशाीय रेल सञ्जाल, ठूला सडक संरचना र ठूला जलविद्युत् योजनाहरूको सुरु गर्दैमा पाँच गर्ष बित्नेछ । त्यतिबेला सम्म कुनै उपलब्धि जनताको हात लाग्ने छैन । पाँच वर्षपछिको निर्वाचनमा नेपाली जनतमतले विकल्पको खोजी गर्नुपर्ने आवश्यकताबोध गरे भने आश्चर्य मान्नुपर्ने छैन । त्यस्तो परिस्थिति उत्पन्न भयो भने विकल्प फेरि पनि नेपाली काँग्रेस नै हो । यतिखेरका ठूला दलहरूलाई विस्थापित गर्नेगरी तेस्रो शक्ति निर्माण भैहाल्ला भनेर पत्याउन सकिँदैन ।

 

यतिबेला जनमतका दृष्टिले शक्तिशाली देखिएका नेपाली काँग्रेस र नेकपा दुवै परम्परावादी यथास्थितिवादी पार्टीहरू हुन् । यिनबाट क्रान्तिकारी परिवर्तनको अपेक्षा गर्नु भनेको मट्टीतेलको डेब्रीबाट बिजुलीको चिमको जस्तो उज्यालोको अपेक्षा राख्नुजस्तो हो । कोरा समृद्धिको नाराले नेपाली जनमत आकर्षित हुँदैन । त्यसो हुन्थ्यो भने पुँजीवादी नवउदारवादी समृद्धिको असली नेपाली उत्तराधिकारी नेपाली काँग्रेस नै थियो । नेपाली जनताले काँग्रेस छोडेर कम्युनिष्ट नामको पार्टीको समर्थन गर्दैनथे । पानीको तिर्खा तेलले मेट्दैन । पानीको तिर्खा मेट्न पानी नै चाहिन्छ । नेपाली मतदाताहरूले कम्युनिष्ट दर्शन सिद्धान्त धेरैथोरै बुझरै नेकपालाई समर्थन गरेका हुन् भने नेपाली मानसिकतामा साम्यवादी तिर्खा रहेछ भन्नुपर्ने हुन्छ । अर्थात् समृद्धिको नेपाली तिर्खा साम्यवादी बाटोबाट मात्र मेटिन सक्छ । तर दुर्भाग्यको कुरा के देखिन्छ भने नेपालीहरूले खोजे चाहेजस्तो कम्युनिष्ट पार्टी नेपालले सुमर्न पाउने सम्भावन शून्य छ ।

 

एमाले माके एकीकृत भएर बनेको पार्टी कम्युनिष्टको नाउँमा नेवार समुदायको साउने नाचको एउटा पात्र ‘लाखे’ जस्तो मात्र हो । लाखे नाचमा भयानक मुकुण्डो भिरेर मानिस नक्कली राक्षस बन्छ । नाच्छ, उफ्रन्छ, ताण्डव देखाउँछ तर वास्तवमा ऊ मान्छे नै हुन्छ । उसको नृत्य, हाउभाउ र भेषभूषा सबै नक्कली हुन्छ । नेकपा (संसद्वादी !) ले नेपाली जनताको तिर्खा मेटाउने हैसियत किमार्थ राख्दैन । संसद् बाहिर रहेका कम्युनिष्टहरू पनि जनतासँग जोडिने सम्भावना देखिँदैन । जनतासँग एकाकार भएर चल्न नसक्ने अभियानले जनसमर्थन प्राप्त गर्न सक्तैन । जनताको समर्थन र सहयोग विना कुनै शक्तिले पनि राजनीतिक परिवर्तनको अभिष्ट प्राप्त गर्न सक्दैन । डर, धम्की, बम, वारुदले होइन जनताको साथ र समर्थन र आकर्षणलाई शक्ति मान्ने विचार दृष्टिकोणले मात्र समाज रूपान्तरणको नेतृत्व गर्न सक्तछ । जनसरोकारका विषयले जनतालाई अभियानसँग जोड्छ । जनताको आवश्यकता होइन सरकारको कामको प्रतिक्रियामा जीविका गर्ने पार्टीले कहिलयै प्रगति गर्दैन । उनीहरूले समातेको बाटोले पेरुको ‘टुपाक अमारु’ नियतिमा नपु¥याउला भन्न सकिन्न । त्यसैले कम्युनिज्मको रसपान गर्ने नेपाली धोको सदाकाल अधुरै पो रहने हो कि भन्ने चिन्ता गर्नुपर्ने भएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here