काठमाडौं । नेपाली कांग्रेसले कम्युनिष्ट सरकारसँग लड्ने निर्णय गरेको संकेत कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको ३६ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो संकेत गरेका हुन् । उनले कम्युनिष्ट सरकारसँग लड्नका लागि सबै कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरेका छन् ।
देउवाले भने “हामी हिजो पञ्चायतसँग लड्यौं । राणासँग लड्यौं । कम्युनिष्टसँग लड्न परे हामी लड्ने छौं । कम्युनिष्टसँग लड्नका लागि सबैलाई एकजुट हुन आग्रह गर्दछु,’’ । “डा. गोविन्द केसीले उठाएका माग जायज भएको दाबी गर्दै कांग्रेस सभापति देउवाले केसीका माग सरकारले पूरा गर्नुपर्नेमा जोड दिए । डा. केसीको माग जायज हो र उनको मागमा हाम्रो समर्थन छ । यसकारण डा. केसीको जायज माग सम्बोधन हुनुपर्छ ।
अनशनमा बसेको १० औं दिनमा वार्ताका लागि बोलाएको स्मरण गर्दै उनले दलहरुकै सहमतिमा ल्याएको अध्यादेशलाई चिकित्सा शिक्षा विधेयकका रुपमा पास नगरिएसम्म आन्दोलन नरोकिने चेतावनी पनि देउवाले दिएका छन् ।
निजी कजेलहरुलाई सम्बन्धन दिन सत्तारुढ दलका नेताहरुले पैसा उठाएर खाएको समेत देउवाले आरोप लगाएका छन् । निजी कलेजहरुलाई सम्बन्धन दिन पैसा उठाएर खाइरहेका कारण अध्यादेशलाई बेवास्ता गरिएको र अध्यादेश विधेयकका रुपमा पास नभएसम्म आन्दोलन नरोकिने चेतावनी देउवाले दिएका छन्। त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार दमनकारी हतियार प्रयोग गरेर सत्ता सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।
















