राज्यलक्ष्मी शाक्य
देशमा वामपन्थी पार्टीको बहुमतको सरकार निर्माण भएको ६ महिना पूरा भइसक्दा पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन अनुभव गर्न पाएका छैनन् । वर्तमान राजनीतिक व्यवस्थाप्रति असहमति जनाउँदै आएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीपछि नेकपाले नेपाल बन्दको आह्वान ग¥यो । बन्दका दौरानमा बम विष्फोटका घटनाहरू व्यापक भए । यी घटनाहरूले पचासको दशकमा तत्कालीन माओवादीले सशस्त्र युद्ध गर्दाताकाको अवस्थाको झल्को दिएका छन् ।
संकटकाल समाप्त भयो, अब शान्तिपूर्ण गतिविधि हुने छन् भनेर आशा गरेका नेपाली जनतालाई निराश तुल्याउने गरी राजनीतिक द्वन्द बढेर गएको देखिन थालेको छ । तत्कालीन समयमा माओवादीले देशको शासन व्यवस्थामाथि असन्तुष्टि प्रकट गर्दै सशस्त्र युद्धको घोषणा गरेको थियो । माओवादीले त्यसबेला अहिले विप्लव नेतृत्वको नेकपाले गरेजस्तै बम विष्फोट र सामन्तहरूमाथि जनकारबाहीका गतिविधि सञ्चालन गरेको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले अहिले देशभर नै आप्mना गतिविधिहरु संगठन निर्माणमा लगाइरहेको छ ।
शान्तिपूर्ण गतिविधिहरुमाथि राज्यका तर्पmबाट जति नियन्त्रण गर्न प्रयास हुन्छ, त्यति नै घटनाहरु आक्रामक पनि भइरहेका छन् । विप्लव तिनै व्यक्ति हुन्, जो पचासको दशकमा माओवादीले सुरु गरेको जनयुद्धमा पनि सहभागी थिए । संयोगवश भन्नुपर्छ तत्कालीन माओवादीसमेत अहिले सरकारमा छ भने त्यही माओवादी पार्टी परित्याग गरेका विप्लव लगायतका नेताहरुले छुट्टै पार्टी निर्माण गरी विभिन्न रूपमा आन्दोलन गर्दै आएका छन् ।
विप्लव माओवादीको अहिले देशैभरि नै उपस्थित देखिन थालेको छ । सरकारले जति धरपकड गरे पनि जनताका तर्पmबाट विप्लव माओवादीका गतिविधिविरुद्धमा कुनै गुनासो नदेखिनुले उसलाई जनसमर्थन पनि बढ्दै गएको बुझ्न सकिन्छ । विप्लवविरुद्धको सरकारी गतिविधिले पचासको दशकको संकटकालीन अवस्थालाई सम्झनामा ल्याइदिएको छ । त्यो बेलामा पनि सरकारमा बस्नेहरूले तत्कालीन माओवादीहरूको असन्तुष्टि र मागहरूलाई बेवास्ता गरेकै कारणले माओवादी आन्दोलन देशव्यापी बन्न पुगेको थियो । तत्कालीन सत्तासीनहरूले माओवादीको आन्दोलनले के नै असर गर्ला र भन्ने आशयका साथ व्यवहार गरेका थिए । तर, त्यो उनीहरूको भूल साबित हुन पुग्यो र देशले १० वर्षसम्म आन्तरिक युद्धको अवस्था झेल्नुप¥यो ।
यसमा तत्कालीन सरकार र त्यो निकायमा बस्ने व्यक्तिहरूको ठूलो कमजोरीले काम गरेको थियो । युद्धका कारण नेपालको आर्थिक अवस्था तहसनहस भयो । आर्थिक विकासका मुद्दाहरु सबै ओझेल परे । देश शान्ति कायम गर्नमै र प्रतिशोधको राजनीतिक गर्नमै व्यस्त भयो । देशको विकास १०/२० वर्ष पछाडि धकेलिएको छ ।
अहिले नयाँ संविधान जारी भएर ऐन कानुनहरु परिवर्तन गर्ने अभियान चलिरहेको बेला एकातिर जनतामा व्यापक असन्तुष्टि देखा परिरहेको भने विप्लवको नेकपाले जनतामा व्याप्त असन्तुष्टिलाई सम्बोधन गरेर सरकारविरुद्ध आन्दोलन गरिरहेको अवस्था छ । यो अवस्थामा सरकारले जनतामा बढेको असन्तुष्टिलाई सम्बोधन गर्नतर्पm ध्यान पु¥याउनुपर्नेमा जनताकै आवाज बोकेको पार्टीलाई दमन गर्ने गलत नीति अख्तियार गरेको देखिन्छ । तत्कालीन माओवादी युद्धताका संकटकालको अवस्थामा पनि त्यो बेलाको सरकारले यस्तै केही दुस्प्रयास गरेको थियो र त्यसको नतिजा आज हाम्रो सामु छर्लंग छ ।
जनताको आवाजलाई दमन गर्ने प्रयास गरिएपछि त्यो झन् विष्फोटक हुने निश्चित छ । जनताले उठाएका मुद्दाहरूलाई समयमै सम्बोधन नगरे त्यसले आगोको रूप लिएर अन्ततः शासन व्यवस्थालाई नै खरानी बनाइदिन्छ भन्ने उदाहरण संसारका धेरै देशहरुमा पुष्टि भइसकेको र हाम्रै देशमा पनि पटकपटक पुष्टि भएको हो । त्यो अवस्था फेरि नआउला भन्न सकिन्न ।

















