माओवादी आन्दोलनका विरुद्ध खतराको संकेत

274

हुकुमबहादुर सिंह
२०५२ साल फागुन १ गतेदेखि चलेको माओवादी जनयुद्धका एक जना नेता बाबुराम भट्टराई अहिले विश्वको साम्राज्यवादी देश अमेरिकाबाट विकासको मोडल सिक्ने भन्दै भ्रमणमा छन् । नेपालको लागि विकासको मोडल के हुन सक्छ भनेर अमेरिकी बुद्धिजीवीहरू, प्रशासकहरू तथा योजनाविदहरूसित भेटघाटका लागि एनआरएनको निमन्त्रणामा अमेरिका गएका उनले पहिलोपटक– ‘नेपालका छोराहरूलाई मार्ने ‘मर्डरर गो ब्याक’, नेपालका कैयौलाई विधुवा गर्ने ‘मर्डरर गो ब्याक’, युद्ध अपराधी आदि नारा र प्लेकार्ड लिएका केहीले उनका विरुद्ध यी उल्लेखित नारा लगाउँदै कालो झण्डा देखाएका छन् । बाबुरामका लागि यो विरोधले खासै उनको भ्रमणमा अवरोध नपार्ला तर नेपालमा चलेको दशवर्से जनयुद्धमा जो जो संलग्न भए, तीनका लागि विश्वका प्रतिक्रियावादीहरूले समय र मौका पर्खेर बसेका छन् र उनीहरूलाई यसैगरी आरोप लगाउन उनीहरू तयार भएर बसेका छन् भन्ने संकेत हो यो ।

 

केही समय अघि प्रचण्डले अष्ट्रलियाको भ्रमणमा जान खोज्दा उनका विरुद्ध यस्तै सम्भावना देखेर ओलीले नजाने सल्लाह दिएर उनले अन्तिममा भ्रमण रोकेका थिए भन्ने भनाइ बाहिर आएको थियो । जब एमालेसित एकता (विलय ?) भयो, त्यसको बारेमा वर्तमान नेकपाका केन्द्रीय सदस्यले यिनै बाबुराम भट्टराईले केही महिना अघि पेश गरेको– ‘पार्टी एकता कि ध्रुवीकरण’ शीर्षकको कार्यपत्रवारे टिप्पणीमा भनेका निम्न शब्दहरू अहिले बाबुराम भट्टराइराईका विरुद्ध गरिएका नाराबाजीसित तुलना गर्दा प्रचण्डले किन एमालेसित पार्टी एकता गरेका रहेछन् भन्ने स्पष्ट हुन्छ । नेकपाका केन्द्रीय सदस्य रहेका ती साथीले एमाले र माकेबीचको पार्टी एकतावारे भनेका थिए– ‘१. यो एकता पृथ्वीनारायण शाहले गरेको एकीकरण जस्तै हो भुगोलको एकीकरण त भयो दिल र दिमागको एकीकरण होइन ्। त्यस्तै एमालेका लागि त यो एकता हो हामी माओवादीका लागि सिद्धान्तको प्रश्नमा यो एकता नभई विलय हो । २. यो एकता प्रचण्डको दिमागमा रहेको एउटा डरलाग्दो डर र त्रासलाई सुरक्षित कसरी गर्न सकिएला भन्दा भन्दै यो एकता एउटा उपयुक्त माध्यम हो कि भन्ने उनमा लागेर भएको हो । ३. यो एकता प्रचण्डलाई सधै तर्साउने हेगको ढोका कसरी सदाका लागि बन्द गर्ने भन्ने वारेको एउटा विकल्प उनले ठाने र एकता गरे । ४. यो एकता प्रचण्ड र उनका अन्य नेताहरूको कालो धनलाई सुरक्षित साथ सेतोमा कसरी रूपान्तरण गर्न सकिएला भन्ने उपायको खोजी हो ।

यसरी उनका यी भनाइबाट के स्पष्ट देखिन्छ भने दशवर्षे जनयुद्ध जसलाई प्रचण्ड र भट्टराईले हजारौको बलिदानबाट यो अवस्थामा पु¥याउन सफल भएका थिए । त्यसलाई जनयुद्धका सहिद, बेपत्ता परिवार, घाइते, अपांगलगायत अन्यको सपनामाथि विश्वासघात गरेर जनयुद्धको नेतृत्व गरेको पार्टीलाई एउटा संसदीय व्यवस्थाको कम्युनिष्ट पार्टीमा परिवर्तन गरेर क्रान्तिप्रति धोका दिएका छन् । बाबुराम भट्टराईले अहिले माक्र्सवादलाई समेत तथानाम गाली गर्दै विश्व साम्राज्यवादको इशारामा भँडुवा विकासवादको विद्यार्थी बन्न अमेरिका गएका छन्, यो केवल नेपाली जनतालाई जसरी दशवर्षे जनयुद्धमार्फत नेपालमा नयाँ जनवादी क्रान्तिलाई सफल पारी समाजवाद र साम्यवादतर्फ जानृ भनेर हजारौलाई सहिद बनाए, लाखौ बेपत्ता तथा घरवारविहीन बनाए, अब म विकास र समृद्धि ल्याउँछु भनेर फेरि नेपाली जनतालाई संसदीय भाषमा सदाको लागि पौडी खेलाउने उनको प्रपञ्च सिवाय अरु केही होइन । तर पनि एउटा के हो भने प्रचण्ड, बाबुराम मण्डलीले जो जसले जे जति जनयुद्धप्रति धोका दिए पनि विश्वसाम्राज्यवादीहरू र घरेलु प्रतिक्रियावादीहरूले उनीहरूलाई छाड्ने छैनन् भन्ने यो घटनाले स्पष्ट हुन मद्दत गर्दछ ।

अहिले बाबुरामले विश्व साम्राज्यवादीहरू तथा भारतीय विरुतारवादीहरूसित घाँटी जोड्न खोजे पनि उनीहरूमाथिका आरोपहरूलाई उपयोग गर्दै उनीहरूमाथि झन् झन् दमन गर्ने छन् । भरखरै प्रचण्ड जेजसरी एसडी मुनीको चाकडी गरेर नेपाल फर्किएका छन् र उसको प्रशंसा गर्दै उनका बारेमा अनेकौ फुलबुट्टा भरेका छन् त्यसले पनि उनी बाबुरामभन्दा बढ्ता क्रान्तिका विरुद्ध धोखाधडी र बेइमानीको मार्गतर्फ अग्रसर छन् भन्ने स्पष्ट हुन्छ । तर पनि बाबुरामका विरुद्ध जे–जस्ता नाराबाजी गरिए, ती समग्रमा नेपालमा चलेको दशवर्षे जनयुद्धका विरुद्ध ओकलिएका नाराहरू हुन् र यी माओवादी आन्दोलनका नेता तथा कार्यकर्ताका विरुद्ध एउटा अन्तराष्ट्रियस्तरमा रचिएको खतराको संकेत हो । बाबुरामले भनेझैं पाँचै जनाले मात्र भए पनि बाबुरामका विरुद्ध लागेका यी नारा भोलि प्रचण्ड, किरण, बादल, विप्लव आदिका विरुद्ध सोझिने निश्चित छ । माओवादी आन्दोलनका विरुद्ध गद्दारी गरेका नेता तथा कार्यकताबाहेक अन्य इमान्दार तथा क्रान्तिकारी माओवादीहरूले क्रान्तिको झण्डालाई एकताबद्ध भएर अगाडि बढाउनुको अब विकल्प छैन । [email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here