काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन शनिबार अमेरिका प्रस्तान गर्दैछन् । महासभाको ७३ औं अधिवेशनलाई प्रधानमन्त्री ओलीले असोज ११ गते सम्बोधन गर्दैछन् । उनले सोही दिन राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्दैछन् ।
प्रधानमन्त्री ओलीले असोज ८ गते दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुने ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’ लाई सम्वोधन गर्नेछन् । सोही दिन साँझ उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । असोज ९ गते ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्र्ने दिवाभोजमा सहभागी हुनेछन् ।
प्रधामन्त्री ओलीले ९ गते नै महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता र्र्गर्ने कार्यक्रम रहेको छ । उनले असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नेछन ।
प्रधानमन्त्री ओली असोज १३ गते शनिबार दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्यु योर्कबाट कोस्टा रिकाको सान होजेतर्फ प्रस्थान गर्नेछन् । प्रधामन्त्री ओलीले सान होजेमा कोस्टा रिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले सान होजेमै शान्ति विश्वविद्यालयलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओली असोज १८ गते स्वदेश फर्किदैछन् । प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा केही सरकारी उच्च अधिकारी रहने जनाइएको छ ।


















