काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यही असोज ७ गते उपत्यका बन्दको घोषणा गरेको छ । पार्टीका प्रवक्ता खड्ग बहादुर बिक ‘प्रकाण्ड’ र अन्य नेता तथा कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीविरुद्ध बन्दको घोषणा गरेको हो ।
शुक्रबार साँझ पार्टी ब्यूरोका इन्चार्ज प्रज्जवले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको घोषणा गरिएको जनाएका छन् । उनले नेताहरुलाई अदालतद्वारा रिहाईको आदेश हुँदा समेत पटक–पटक गिरफ्तार गरी झुटा मुद्दामा जिल्ला घुमाउने काम गरिरहेको हुँदा घोर विरोध सहित उपत्यकामा ७ गते बन्दको आह्वान गरिएको जानकारी दिएका छन् ।
‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ । यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ ।
इन्चार्ज प्रज्वलले उपत्यका बन्द सफल बनाउन आम जनसमुदायसँग अनुरोध गरेका छन् । त्यसैरी निर्मला पन्तलगायत दर्जनौं किशोरीहरूको बलात्कार गरी हत्या हुँदासमेत यो सरकार अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा उल्टै अपराधीलाई बचाउन अनेक प्रपञ्च गरिरहेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति यसप्रकार रहेको छ ः–


















