–प्रीति रमण
नेपालका राजनीतिक दलका नेताहरु पार्टी विभाजन गर्न निकै माहिर छन् भन्ने कुराको पुष्टि हुँदैछ । पार्टीहरु जुट्नलाई पनि सिद्धान्त नचाहिने र फुट्नलाई पनि सिद्धान्तले महत्व नपाउने भएपछि पार्टीहरु जुनसुकै बेला पनि फुट्ने र जुट्ने अवस्थाबाट गुज्रिरहेका छन् । नेपालको परिचय यो पनि महत्वपूर्ण बन्ने संकेत भएको छ । सानो देश, थोरै जनता तर धेरै दलहरु भएको देश नेपाल हो भन्ने परिचय पनि हाम्रो देशको बनिसकेको छ । यो सवालमा हाम्रो देशका दलका नेताहरु विशेष जिम्मेवार छन् ।
नेपालको चर्चा विश्वका विकसित मुलुकहरुमा खासै भएको पाइदैन । तर नेपालको पहिचान धेरै बिषयबाट हुने गरेको छ । सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मभूमि भनेर नेपाललाई विश्वले नै चिन्दछ । तर सगरमाथा चीनको सिमानामा पर्ने भएकाले चीनले पनि यसको स्वामित्व दावी गर्न सक्छ । तथापि यो सवालमा चीन लोभिएको छैन । बरु दक्षिणतिरको छिमेकी देश भारतले सगरमाथामा समेत आफ्नो स्वामित्व दावी गर्ने मूर्खतापूर्ण काम गरेको छ । एक जना सञ्चारकर्मीलाई सगरमाथा पु¥याएर सञ्चार माध्यम मार्पmत भारत सरकारले यस्तो सन्देश समेत दियो । बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्ने संसारलाई थाहा छ । तर भारत सरकारले बुद्धको जन्मस्थललाई पनि विवादित बनाउने नेपालको यो गौरवपूर्ण इतिहासबाट टाढा गराउने दुस्प्रयास गरिरहेको पाइन्छ ।
यीसँगै हिमाल, पहाड, तराई र मधेसका भूभागमा छरिएर रहेका बहुजातीय, बहुभाषिक र बहुसंस्कृतिका नागरिकहरु मिलेर बसोबास गरिरहेको सानो, सुन्दर र शान्त, जलस्रोतको धनी भनेर नेपाल चिनिन्छ । यो सवालमा पनि नेपालको गौरव गर्ने ठाउँ समाप्त गरिदैछ । जातिय आधारमा विभाजन, भाषाको आधारमा विभाजन र धर्मको आधारमा विभाजन गराएर नेपाली—नेपालीलाई एकजुट नदिने वातावरण विकास गरिदैछ । हाम्रो देश नेपाल राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिकरुपले समृद्ध हुनुपर्नेमा भ्रष्टाचार र मानव अधिकार उल्लंघन गर्ने सरकार भएको देश भनेर पनि चिनिने अवस्थामा पुगेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले नेपाललाई भ्रष्ट मूलुकको रुपमा चित्रण गरेपछि नेपालको नकारात्मक चर्चा गर्ने अर्को पाटो सृजना भएको छ । संसारले नेपाललाई चिन्ने विषय यो पनि बन्न पुग्यो ।
हालसम्म कसैको उपनिवेश नरहेपनि केन्द्रिकृत एकलजातीय राज्यसत्ताले एक भाषा, एक धर्म र बहुसंस्कृतिलाई जोडेर राज्य संचालनको आधार बनाएको थियो । राजा महेन्द्रले शोषणरहित समाजको सृजना गर्ने लक्ष्य बनाएर नेपाली माटो सुहाउँदो राजनीतिक प्रणालीको विकास गराउन चाहेका थिए । तर उनको त्यो चाहानामा राजनीतिक स्वतन्त्रतालाई अंकुश लगाउने संकुचित राजनीतिक चिन्तनले प्रभाव जमाएपछि उनको अभियान विचैमा रोकियो । राजा महेन्द्रको निधन पछि उनले अपनाएको राजनीतिक प्रणाली अगाडि बढ्न सकेन । जसको फलस्वरुप देश दलीय पद्धतिमा प्रवेश ग¥यो ।
दमन र उत्पीडनका साथै जातीय, बर्गिय र सांस्कृतिक बिभेदले प्रश्रय पाएको भन्दै राजनीतिक स्वतन्त्रताका लागि आन्दोलनलाई अगाडि बढाउने आधार बलियो भयो । विदेशी शक्तिको समेत सहयोगबाट दलीय अभ्यास खुल्ला गरियो । तर दलीय अभ्यासका नाममा सुरु भएको दलहरुको लूटतन्त्र र राजसंस्थाका बीचमा फेरि पनि प्रतिस्पर्धा चलि नै रह्यो । यही कारणबाट दलहरु र राजसंस्थाका बीच द्वन्द बढेर गयो ।
राजा र दलका नेताहरु बीच शक्तिको प्रतिस्पर्धाले देशलाई अगाडि बढ्न दिएन । विकासका कामहरु अवरुद्ध भए, देशको शिक्षा क्षेत्र अस्तव्यस्त बन्यो, स्वास्थ्य क्षेत्रमा देश धेरै पछाडि प¥यो । नागरिकहरुको जीवनस्तर माथि उठाउन सकिएन । विकास र निर्माणका कामहरु तर्पm राज्य सरकारको ध्यान पुगेन । केवल शक्तिशाली बन्ने होडबाजीमै राजा र नेताहरु लागिरहे । यही कारणबाट राजसंस्थाले पनि दुई चालिस बर्षको इतिहासलाई समाप्त गरेर इतिहास बन्नुपर्ने अवस्था सृजना भयो ।
नेपाली जनताको अविरल संघर्ष, त्याग र बलिदानद्वारा तानाशाह–अधिनायकवादी राजतन्त्र, निरंकुश जहाँनियाँ राणा शासन, निर्दलीय पन्चायती व्यवस्थाको अन्त्य लगायतका एैतिहासिक काम भएका छन् । बहुदलीय प्रजातन्त्र स्थापना गर्ने काममा जनताको सहभागिता भएकै हो । तरपनि बहुदलीय ब्यवस्थाले समेत नेपाली जनता र नेपाल राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकेन । त्यही कारणले राजसंस्थाको पनि अन्त्य गरेर गणतंत्रको अभ्यास सुरु भएको हो । तर गणतंत्रले पनि सफलता पाउने वा देश र जनताका आवश्यकतालाई सम्बोधन गर्ने लक्षण देखिएको छैन । गणतंत्र स्थापना भएको पनि चौध वर्ष व्यतित भईसकेको छ । तर जनतामा गणतंत्र भन्दा राजतन्त्र नै ठीक थियो भन्ने सोचाईको विकास भईरहेको छ । यो अवस्था परिवर्तित राजनीतिलाई चुनौति हो ।
बर्गीय सोचमा आधारित माओवादी जनयुद्ध र सधैं बिभेदमा पारिएका समुदायबाट भए गरेका मधेस बिद्रोह, आदिवासी जनजाती र मुस्लिमका संघर्षहरुको बलमा संविधानसभाका निर्वाचनहरु पनि दुई पटक भए । संबिधानले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । तर एउटा राजा हटाएर सयौं राजाहरु जन्माइएको अनुभूति नेपाली जनताले गर्नुपर्ने अवस्था विकसित भएको छ । गाउँ—गाउँमा जनप्रतिनिधिका आवरणमा राजाहरु जन्मिएका छन् ।
देशको वास्तविक समस्या के हो ? जातीय, क्षेत्रीय, धार्मिक, साँस्कृतिक, शैक्षिक, लैंगिक बिभेद देशको समस्या हो कि बर्गिय समाजको संरचना नै वास्तविक समस्या हो ? सबै राजनीतिक दलहरुका घोषणापत्रमा समाजवाद लेखिएका छन् । विधानहरुमा समाजवाद लेखिएका छन् । संविधानमै गन्तव्य समाजवाद लेखिएको छ । तर समाजवाद कुन चराको नाम हो ? जनताले प्रश्न गरिरहेका छन् । समस्याहरु संसारका सबै देशहरुमा छन् । सबै देशहरुमा आर्थिक रुपले बिपन्न जनताका समस्याहरु समान खालका नै छन् । चाहे जुनसुकै धर्ममा आस्था राख्ने शासकहरु भएका मुलुकहरु होउन्, त्यहाँका जनता गरीबीको दुस्चक्रमा परेकै छन् । तर बिश्वका धनी देशहरुले आफ्नै देशका गरीब जनतालाई अभावमै पिल्सिन बाध्य बनाईरहेका छन् । धनी भनिएका देशहरुमा पनि गरिबहरुको संख्या असंख्य छन् । तर ती धनी देशहरुले साम्राज्य विस्तारका लागि बाहिरी मुलुकलाई आर्थिक सहयोग उपलब्ध गराएको भन्दै आएका छन् । आप्mनै देशका जनतालाई गरिबीमा बाँच्न बाध्य बनाएर अन्य देशलाई दाताको हैसियत देखाउन खोज्नु हात्तीका देखाउने दाँत जस्तै हुन् भन्न सकिन्छ । -जनधारणा साप्ताहिकबाट


















