धनगढी/ गत शुक्रवार संसदको दुई तिहाई बहुमतले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेपछि राष्ट्रिय पत्रिकाहरुले गोदावरीका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै अत्तरियाका युवाहरुले बुधबार पत्रिका जलाएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि अत्तरियाका युवाहरुले कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिका गाडीबाट थुतेर जलाएका थिए ।
नेपालगञ्जबाट सुदूरपश्चिम प्रदेशमा पत्रिका ल्याउने क्रममा बुधबार बिहानै अत्तरिया चोकमा पत्रिका जलाइएको हो ।राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाले ‘जंगल मासेर राजधानी बनाउदा पर्यावरणमा गम्भीर असर पुग्ने,’ ‘चुरे क्षेत्र खतरामा,’ ‘बाघको बाटोमा राजधानी’ लगायतका शिर्षक दिएर समाचार लेखेका छन् ।
तर ति समाचारहरु गोदावरी राजधानीका विरुद्ध नियोजित रुपमा प्रकाशन गरिएको आरोप लगाउदै अत्तरियाका युवाहरुले पत्रिका जलाएका हुन् ।
समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा बुधबार वितरणका लागि ल्याइएका राष्ट्रिय दैनिक पत्रिका जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ ।
‘कुनै पनि बहानामा जनतालाई सुसूचित गराउने भरपर्दो माध्यमको रुपमा रहेका पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण गर्नु भनेको स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप हो । यस्ता कार्यले नेपालको संविधानको धारा १९ मा व्यवस्था भएको सञ्चारको हकको उल्लंघन हुनुका साथै जनताको सुसूचित हुनपाउने अधिकारलाई कुण्ठित पार्ने महासंघको ठहर छ ।’ महासंघका महासविच रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै महासंघले प्रेसविरोधी क्रियाकलापको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई तत्काल् कानुनी दायरामा ल्याउन र सञ्चारकर्मी र सञ्चारमाध्यमको सुरक्षामा संवेदनशील भई यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।


















