काठमाडौं / ६३ औं प्रहरी दिवस २०७५ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७५ सम्पन्न भएको छ ।
प्रतियोगिता समापनका अवसरमा आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रथम हुने टीम ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई रनिङ शील्ड, पदक, प्रमाणपत्र र पुरस्कार तथा सहभागी टिमलाई मायाको चिनो समेत प्रदान गर्नुभयो।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले खेल जीवनको अभिन्न अंग रहेको बताउँदै खेलको माध्यमबाट सामूहिक भावना विकास हुने र उल्लासपूर्ण वातावरण सृजना भई प्रहरी संगठनको लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने चर्चा गर्नुभयो।खेलकूदलाई थप विकास गर्न संगठनले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले ७ वटै प्रदेशमा खेलकूद टीमको निर्माण गर्नुपर्ने जनाउनुभयो ।
प्रहरीले गरेको राम्रो कामबाट नागरिक खुसी भए प्रहरी पनि खुशी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि सत्य,सेवा,सुरक्षणमको मूलमन्त्रलाई आत्मसात गरी काम गर्नुपर्ने जनाउनुभयो । नेतृत्वले तय गरेको नीति पछ्याउँदै प्रहरी कर्मचारीले इमान्दारी, निष्ठा पूर्वक र दृढता पूर्वक नागरिक मैत्री काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमको सुरुमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक खनालले खेलका रेफ्री बिजय केसीलाई भलिबल हस्तान्तरण गरी फाइनल खेलको उद्घाटन गर्नुभएको थियो । उक्त प्रतियोगिता अन्तर्गत ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा टीमबीच आजै भएको फाइनल खेलमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय टीम विजय भएको हो । असोज १७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार र३५ हजार तथा शील्ड, पदक, प्रमाणपत्र एवं सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार र अन्य५ विधामा उत्कृष्ट ५ खेलाडीलाई जनही नगद ७ हजार ५ सय प्रदान गरिएको थियो ।
सो अवसरमा खेलकूद कार्यक्रम उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । 





















