सरकारले देशलाई आत्मनिर्भर बनाउने हो भने उत्पादनतर्फ ध्यान दिनु जरुरी हुन्छ

276
Nisha Tamang

– निशा तामाङ

सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई प्रमुखता दिएको छ । यो नारालाई कसरी सार्थक तुल्याउने भन्ने तर्फ सरकारको ध्यानाकर्षण वा योजना तथा कार्यक्रम केही पनि देखिदैन । देशको समृद्धि एउटा पक्ष हो भने जनताको सुख अर्को पक्ष हो । देश समृद्ध हुँदैमा जनता सुखी हुन्छन् भन्ने हुँदैन ।

अहिले दुईतिहाइ बहुमत पाएको सरकारले देश विकासको निम्ति बनाएको समृद्ध नेपाल सुखी नेपाली नारालाई सार्थकता दिन देशको समृद्धि तर्फको मात्र उद्धेश्य नहेरी जनताको सुखतिर पनि ध्यान दिनु जरुरी छ । सरकारले अहिले देश विकासको निम्ति सर्वप्रथम उद्योग क्षेत्रलाई बढावा दिनु जरुरी हुन्छ । उद्यागको विकास बिना दैनिक उपभोग्य सामाग्रीहरू उत्पादन बढाउन सकिदैन भने रोजगारी वृद्धि पनि हुन सक्दैन । त्यसैले उद्योगलाई गाउँ क्षेत्रतर्फ विकास गराउनु जरुरी हुन्छ ।

कृषिमा आधारित उद्योगहरू गाउँ–गाउँमा विस्तार गर्न सकिन्छ । त्यसपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको पहुँच बढाउनतर्फ राज्यको ध्यान पुग्नु जरुरी हुन्छ । शिक्षा, स्जास्थ्य र रोजगारी जनताका नैसर्गिक अधिकार बनाइनु जरुरी हुन्छ । यत्तिमात्र हुन सक्यो भने सुखी नेपालीको सरकारी नारा सार्थक हुनसक्ने छ । सुखी नेपाली नै समृद्ध नेपालको आधार हो ।

सरकारले अहिले समृद्ध नेपालको नारालाई सार्थक तुल्याउन जनतामार्थि करको भार थोपरेर जनतालाई सुखी होइन दुखी बनाउने काम गरिरहेको छ । सरकारको यो चालाले समृद्ध नेपाल दुखी नेपालीको गन्तव्य स्पष्ट गरिरहेको छ । व्यापारिक केन्दहरूको स्थापना , सवारीसाधनहरूको वृद्धि , हवाईजहाज , पानीजहाज र रेलसेवा विस्तारका सरकारी प्रयासले मात्र जनतालाई सुखी बनाउन सक्दैन । यी क्षेत्रमा लगानी गर्नाले देश समृद्ध त बन्न सक्ला तर देशका जनता भने सुुखी बन्छन् भन्ने सोच्नु मुर्खता हुनेछ । नेपाल जस्तो कृषि प्रधान र पर्यटकीय आकर्षण रहेको मुलुकमा सरकारले जनताको सहभागिता बढाउँदै त्यसतर्फ ध्यान पु¥याउन आवश्यक छ ।

जनता सुखी भए मात्र देश पनि समृद्धितर्फ बढ्न सक्यो भने मात्र देशको समृद्धिले जनताको सहभागिता समेट्न सकेको पुष्टि हुनेछ । देशले आर्थिक विकास गर्ने तर जनताको जीवनस्तर अभावग्रस्त बन्न जाने हो भने त्यो जति दुर्भाग्यपूर्ण अरु केही हने छैन । अतः सरकारले यदि देश विकासको निम्ति उठाएको नारालाई सार्थकता दिनु छ भने देशका जनता आफू जे कुरामा आत्मनिर्भर छन्, जुन क्षेत्रमा सक्षम छन् त्यही क्षेत्रलाई महत्व दिनु आवश्यक हुन्छ ।

उत्पादन क्षेत्रमा लगाानी गर्दै रोजगारीको सृजना गराउन सकिएन भने जनताको अवस्था माथि उठाउन सकिने छैन ।
अहिले नेपाली जनतालाई चाहिने हरेक वस्तु बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । भान्सामा दैनिक प्रयोग गरिने नुन देखि लत्ता कपडा र मेशिनरी उत्पादन सबै विदेशीको भरमा निर्भर हुँदै आयात भइरहेकोे छ । यो स्थितिले देशको व्यापार घाटा कहालीलाग्दो अवस्थामा रहेको छ । देशका जनता परनिर्भर भइरहेका छन् । रोजगारीका लागि विदेशतीर धाउनुपर्ने बाध्यता देशका बलिया पाखुराहरूका लागि भइरहेको छ ।

कुनैबेला धान खेतिमा प्रख्यात भनेर चिनिने देश नेपाल अहिले धान समेत अरु मुलुकबाट आयात गर्नुपरिरहेको छ । यो सबै सरकारले उत्पादनशील क्षेत्रमा लगानी नगरेको परिणाम हो । यसरी नै नेपाल निर्यातमा भन्दा बढी आयातमा निर्भर हुन थाल्यो भने देशको विकास सम्भव हुने छैन ।

राजनीतिक स्थिरता, दुईतिहाइ बहुमतको सरकार, नयाँ श्रम ऐनको निर्माण ,मजदुरलाई न्यूनतम पारिश्रमिक १३ हजार मासिक तलवको व्यवस्था , लगानी मैत्री नीति , ऐन कानूनको व्यवस्था , बन्द हड्ताल बन्द, लोडसेडिङको अन्त्य, उद्योगलाई निरन्तर १० घन्टा विद्युत उपलब्धता आदि जस्ता व्यवस्थातर्फ सरकारको ध्यान पुग्नु जरुरी छ । देशको अर्थतन्त्र फस्टाए मात्र देश विकास सम्भव छ ।

देशको अर्थतन्त्र फस्टाउन सरकारी ,सहकारी, निजी क्षेत्र र सबैतिरबाट लगाानी हुन जरुरी छ । यी तिनै निकाय चलायमान हुन बैंकिङ क्षेत्रले नै पूँजीको अवश्यकता पुरा गर्दछ । गत आर्थिक वर्षमा बैंक तथा वित्तिय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जामा २२.५ प्रतिशतले बढेको जनाइएको छ । त्यो भन्दा पहिलेको वर्ष १८.२ प्रतिशत मात्रै थियो । हुन त सफल अर्थतन्त्रको लागि यो सकारात्मक पक्ष हो । तर कर्जा प्रवाहको सूचाङ्क हेर्ने हो भने कर्जा प्रवाह धेरै जसो उत्पादनशील क्षेत्रमा नभइ रियलस्टेट, आवासीय घर , सवारीसाधन कर्जा, आयात व्यापार र हायर पर्चेज जस्ता क्षेत्रमा लगानी भएको पाइएको छ ।

यसले देशमा स्वदेशी उत्पादनको क्षेत्रमा संकट ल्याउने निश्चित छ । सरकारले उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिँदै उत्पादन बढाउनेतर्फ ध्यान दिने हो भने यो सम्भावित खतराबाट देशलाई बचाउन सकिने छ । स्वदेशी उत्पादनलाई वृद्धि गर्दै स्वदेशी उत्पादन वस्तुको निर्यात बढाउने, आयात प्रतिस्थापन हुने गरी कुषि, पर्यटन ,ऊर्जा, उद्योग ,साना उद्योग, स्वरोजगार जस्ता क्षेत्रमा लगानी गर्ने वातावरणको सृजना गनुपर्दछ ।

यति गर्न सकियो भने देशका जनता सुखी बन्ने निश्चित हुनेछ भने हाम्रो देश समृद्ध नेपाल पनि बन्ने निश्चित छ , अन्यथा आकाशको फल जस्तै हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here