बाँके / साईनो बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यलाई माध्यम बनाएर उनीहरुको जग्गा धितो राखेर संस्थाका अध्यक्ष लगायतका पदाधिकारीले बढी ब्याजमा व्यापारीक लगानी गरिरहेको खुलेको छ।
झण्डै छ बर्षअघि खजुरा गाउँ पालिका वडा नम्बर ४ का नन्दराम पौडेललाई ललाइफकाई बीस हजार बराबरको शेयर दिने प्रलोभन देखाएर साईनो सहकारीका अध्यक्ष तथा व्यवस्थापकले पौडेलको नामको जग्गा बैंकमा धितो राखेर स्थानीय गरीब दुखीको जग्गा दृष्टिबन्धक लिएर टाँट पल्टाउने धन्दामा लागेका छन्। जग्गा धनी पौडेलका दुई छोरा र एक छोरी छन्। पौडेलका जेठा छोरालाई जानकारी नदिई गुपचुपमा जग्गा धितो राखेर जग्गाधनी नन्दराम पौडेल दुई बर्षअघि मष्तिस्कघात भएर थला पर्दा पनि साईनो सहकारीका पदाधिकारीले उक्त जग्गा फिर्ता दिएनन्। व्यक्तिगत लाभका लागि साईनो सहकारीका पदाधिकारीले गरीब दुखीको घरजग्गा हडप्ने उदेश्यले दृष्टिबन्धकमा लगानी गरेर चर्को ब्याज असुली रहेका छन्।
साईनो सहकारीका सुत्रका अनुसार ती पदाधिकारीले जिल्ला सहकारी र सम्बन्धित निकायका पदाधिकारीलाई प्रभावमा पारेर उक्त धन्दा चलाइरहेको बुझिएको छ। यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस र न्याय मिलोस् भन्ने पीडितको दुखेसो छ।
सहकारी विभागसँग सम्बन्धित जिम्मेवार पदाधिकारीका अनुसार दुग्ध सहकारीको काम भित्र ऋण लगानी नपर्ने भएकोले कारोबार नै गैरकानुनी छ। साईनो बहुउद्देश्यीय सहकारीमा अध्यक्ष लगायत अन्य पदाधिकारी हरु सबै नातेदार र नजिकका मानिसहरू छन्। यो सहकारीको संरचना र कृयाकलाप हेर्दा सहकारीको नामबाट ठगी धन्दा सञ्चालनका लागि नै गठन गरिएको जस्तो देखिन्छ।


















